माछापुच्छ्रे बैंकको रौतहटस्थित चन्द्रनिगाहपुर शाखाको बैंक खाताबाट रकम चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
रौतहटको वृन्दावन नगरपालिका–३ निवासी रामेश्वरराय यादवको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट जेठ ५ गते गैरकानुनी रूपमा नौलाख ट्रान्सफर गरेको आरोपमा उनीहरू पक्राउ परेको हुन्। उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगर–१६ नगवाका २१ वर्षीय राजनारायण चौरासिया, वडा नम्बर १९ केहुनी विन्दावासनीका २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखा वैदेश्वर गाउँपालिका–५ सिमबारी टोलका २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ पिङगोलाका १९ वर्षीय महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका–२ भुट्टारका २० वर्षीय केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका–८ भगवानपुरका १९ वर्षीय दीपे सदा र २३ वर्षीय श्रवण दास रहेका छन्।
उनीहरुले यादवको माछापुच्छ्रे बैंकको खाता नम्बर ०७५००६५३८२८०००१४ मा रहेको नौलाख रकम जेठ ५, ६ र ७ गते दैनिक तीन लाखका दरले अन्य बैंकको खाता र खल्ती सेवामा अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
उनीहरूको साथबाट ६ थान मोबाइल, विभिन्न व्यक्तिको विभिन्न बैंकको १५ थान एटीएम कार्ड, मोटरसाइकल एकथान र ६६ हजार नगद बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकाले अनधिकृत रूपमा बैंकको खातामा पहुँच पुर्याई विभिन्न व्यक्तिको खातामा रकम ट्रान्सफर गरी आर्थिक अपचलन गरेको अनुसन्धानबाट खुलेको हो। उनीहरूले अनधिकृत रूपमा ट्रान्सफर भएको रकम एटीएमबाट गैरकानुनी तवरले निकाली आर्थिक लाभ लिने गरेका थिए।
यसका साथै विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाइल अनलाइन बैकिङको युजरनेम र पासवर्ड समेत पहुँचमा लिई खाताहरूबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने गरेका थिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।