पोखरा ३३ का वडाध्यक्षले २ लाख ४० हजार जरिवाना सहित आफ्नो खाताको ५५ लाख फिर्ता गरे

पोखरा ३३ का वडाध्यक्षले २ लाख ४० हजार जरिवाना सहित आफ्नो खाताको ५५ लाख फिर्ता गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ असार २०८०
  • 4.1K
    Shares

३ का वडाध्यक्षले २ लाख ४० हजार जरिवाना सहित आफ्नो खाताको ५५ लाख फिर्ता गरे

पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले व्यक्तिगत खातामा लगेको रकम जरिवानासहित फिर्ता गरेका छन्।

अधिकारीले मंगलबार महानगरपालिका गएर आफुले लिएको ५५ लाख रुपैयाँ रकम जरिवाना स्वरूप २ लाख ४० हजार सहित फिर्ता गरेका हुन्।

‘पेश्की लगेको रकम ३५ दिनभित्र फिर्ता नगरे जरिवाना लाग्छ,’ वडाध्यक्ष अधिकारीले भने,‘जसोतसो साथीभाइसँग सहयोग मागेर फिर्ता गरें।’

पोखरा महानगरले बनाउने भनेको प्रशोधन केन्द्रको जग्गा खरिद गर्न बैना दिने भन्दै महानगरले वडाध्यक्ष अधिकारीको खातामा उक्त रकम पठाएको थियो।

महानगरको गत पुस २५ गते बसेको कार्यपालिका बैठकको १३ नम्बर निर्णयले वडाध्यक्ष अधिकारीको खातामा उक्त रकम पठाउने निर्णय गरेको थियो।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको महानगरको खाताबाट वडाध्यक्ष अधिकारीको एनआइसी एसिया बैंकको खातामा गत पुस २९ गते रकम पठाएको थियो।

रकम पठाएको झण्डै ५ महिना बितिसक्दासमेत जग्गा खरिद प्रक्रिया नै सुरू भएको थिएन।

अधिकारीले पोखरा महानागरपालिकाका मेयर धनराज आचार्यको विशेष अनुरोधमा उक्त रकम लगेको भन्दै विज्ञप्ति जारी गरेका थिए।

महानगरले पुँडिटारका १७ जनासँग ९६ रोपनी जग्गा प्रशोधन केन्द्रका लागि अधिग्रहण गर्ने तयारी गरेको छ। यसका लागि प्रमुख जिल्ला अधिकारी संयोजक रहने समितिको बैठक बसेर प्रक्रिया सुरू गरेको महानगरले जनाएको छ।

प्रक्रिया पूरा भएर जग्गाधनीले मुआब्जा पाएपछि अहिले वितरण गरेको पैसा फिर्ता लिने वडाध्यक्ष अधिकारीले बताए।

आफ्नो व्यक्तिगत पैसा गएकाले रकम फिर्ता लिने उनको भनाइ छ।

प्रतिक्रिया