कास्कीको तात्कालिन सराङकोट गाबिसका दुई जना गाबिस अध्यक्ष लगायत आठ जनाविरुद्ध अदालतमा भ्रस्टाचार मुद्दा दर्ता

कास्कीको तात्कालिन सराङकोट गाबिसका दुई जना गाबिस अध्यक्ष लगायत आठ जनाविरुद्ध अदालतमा भ्रस्टाचार मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ असार २०८०
  • 1.2K
    Shares

घुस

कास्की जिल्लाको हाल पोखरा महानगरपालिका वडा नम्बर १८ तात्कालिन सराङकोट गाबिसका दुई जना गाबिस अध्यक्ष लगायत आठ जनाविरुद्ध अख्तियारले भ्रस्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा तत्कालीन सराङकोट गाउँ विकास समिति (गाविस) का अध्यक्षद्वय मोदनाथ रेग्मी र झपटबहादुर थापा, वडा सदस्य ऐमबहादुर थापा, सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर गुरूङ र वडा नम्बर ७ बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरूद्ध भ्रटाचार मुद्दा दर्ता गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी दुरूपयोग गरेको भन्दै मुद्दा दायर गरेको प्राप्त समाचारमा जनाइएको छ ।

पोखरा महानगर-१८ सराङकोटस्थित करिब ५/६ रोपनीको सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। उक्त उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा उनीहरूले भ्रष्टाचार गरेको खुलेको हो। अख्तियारले उनीहरूसँग एक करोड ५० लाख बिगो माग गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

तत्कालीन जनप्रतिनिधिहरूले बाटो बनाउन बजेट व्यवस्था गर्ने भन्दै कानुनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गराएर टेन्डर आह्वान गरेका थिए। त्यसरी बोलकबोल गर्नेबाट प्रस्ताव गरी रकम लिएर अस्थायी बसोबासका लागि प्रमाणपत्र दिएर सरकारी जग्गा अनधिकृत तवरले बिक्री गरेको अख्तियारले जनाएको छ।

उनीहरूले अस्थायी बसोबासका लागि दिलबहादुर गुरूङलाई प्रमाणपत्र दिएका थिए। अहिले उक्त जग्गामा स्थायी संरचना निर्माण गरी निजी प्रयोगमा लगाएको देखिएको अख्तियारले जनाएको छ। यसरी उनीहरूले जग्गा हडपेर सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको पुष्टि हुने अख्तियारले दाबी गरेको छ।

अख्तियारले उनीहरूलाई कैद सजाय, बिगोबमोजिमको जरिवाना र दुरूपयोग गरेको सम्पत्ति समेत असुल गर्न मागदाबी लिएको छ।
अख्तियारद्वारा सराङकोट गाबिसका पदाधिकारीविरुद्ध दर्ता गरेको भ्रस्टाचार मुद्दा

प्रतिक्रिया