नेपालसँग समन्वय नगरी गड्डाचौकी क्षेत्रमा नापजाँच गरिरहेका पांच जना भारतीयलाई नेपाल प्रहरीले कागज गराएर छाड्यो

नेपालसँग समन्वय नगरी गड्डाचौकी क्षेत्रमा नापजाँच गरिरहेका पांच जना भारतीयलाई नेपाल प्रहरीले कागज गराएर छाड्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ असार २०८०
  • 1.7K
    Shares

कञ्चनपुरको गड्डाचौकी क्षेत्रमा नापजाँच गरिरहेका भारतीय कामदार

नेपाली प्रशासनसँग समन्वय नगरेरै कञ्चनपुरको गड्डाचौकी क्षेत्रमा नापजाँच गरिरहेका पांच जना भारतीय कामदारलाई नेपाल प्रहरीले कागज गराएर छाडेको छ।

शुक्रबार दिउँसो नेपाली पक्षसँग समन्वयनै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गरिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार उनीहरुलाई कागज गराएर हिजै साँझ छाडिएको हो।

‘उनीहरु दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माण स्थलसम्म पुग्ने पहूँच मार्गमा संलग्न रिद्धीसिद्धी कम्पनीमा कार्यरत कर्मचारी रहेको खुल्यो,’ प्रहरी निरीक्षक गिरीले भने, ‘आगामी दिनमा नेपालतर्फ काम गर्दा समन्वय गर्ने ब्योहोराको कागज बनाएर जिम्मा लगाएका छौँ।’

नेपाल प्रहरीले पाँचै जनालाई सशस्त्र प्रहरीको जिम्मा लगाएको थियो। सशस्त्रले भारतीय प्रहरीको जिम्मा लगाएको थियो।

हिजो बिहान करिब साढे १० बजेतिर कम्पनीका सर्भे मेनेजर तालेवर सिंहको नेतृत्वमा पाँच जना कर्मचारी गड्डाचौकी क्षेत्रमा नाप जाँच गरिरहेका बेला स्थानीयले रोकेर प्रहरीलाई खबर गरेका थिए।

उनीहरुले दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि भारततर्फ निर्माणाधीन पहुँच मार्गको उचाई र दूरी पत्ता लगाउन गड्डाचौकीमा नापजाँच भइरहेको बताएका थिए।

उनीहरुले प्रहरीलाई गड्डाचौकीमा बेन्च मार्क (रेफरेन्स पोइन्ट) छ, त्यही भएर हाइवेको दुरी र उचाई पत्ता लगाउन नापी भइरहेको बयान दिएका थिए।

भारततर्फकै हाइवेका विषयमा नापजाँच गर्ने विषय भए पनि नेपाली पक्षसँग समन्वय नै नगरी आउँदा समस्या भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया