असार १ गते साँझ फिरफिरे बनाउन भनेर निस्केका स्याङ्जाको अर्जुनचौपारि गाउँपालिका वडा न.६ सिउडबारिका हर्षित देवकोटा त्यो फिरफिरे लिएर घर कहिल्यै नफर्कने गरी बिदा भएका छन् । ‘फिरफिरे बनाउन जाम भनेर दाइले बोलाउनु भएको छ, म गएर आइहाल्छु हाई ममी!’ भनेर घरबाट निस्केका हर्षित घर नजिकको भिर मुनि मृत फेला परेका छन्।
उनलाई फिरफिरे बनाइदिने प्रलोभन देखाएर बोलाएका सोही स्थानका २२ वर्षीय सुजन सुवेदी चुवाई ले पटक पटक टाउकोमा हँसिया प्रहार गरेर हत्या गरे पश्चात भिरबाट लडाएर भागेको प्रहरीले जानकारी दिएको छ।
गाउँको स्कुलमा कक्षा ५ मा अध्ययनरत हर्षितको हत्या गरेर भागेका सुजन सुबेदीलाई प्रहरीले स्याङ्जा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब निरीक्षक रविन्द्र खनालले जानकारी दिए। प्रारम्भिक अनुसन्धानको क्रममा सुवेदीले पटक पटक बालकको टाउकोमा हँसिया प्रहार गरेको र भिर बाट लडाएर हत्या गरेको स्वीकार गरेका छन् । तर बालकको हत्याका कारणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।