बजेटले महँगियो भान्सा

बजेटले महँगियो भान्सा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 2.3K
    Shares

तरकारी तथा फलफुल

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा महँगिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत फलफूल, केही तरकारी तथा मासुजन्य वस्तुमा भ्याट लगाउने घोषणा गरेपछि बजारमा तरकारी र फलफूलको मूल्य बढेको हो।

बजेट भाषणपछिका १० दिनमा तरकारी तथा फलफूलको मूल्यमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यही जेठ १५ गते (बजेट भाषण भएको दिन) देखि २५ गते (बिहीवार) सम्म आलुको मूल्य १४.७८ प्रतिशतले बढेर ३९ रूपैयाँबाट ४६ पुगेको छ। यो अवधिमा गाजरको मूल्य ३४ प्रतिशतले बढेको छ। प्रतिकिलो ७६ रूपैयाँमा बिक्री भएको गाजरको मूल्य ४० रूपैयाँले बढेर एकसय १६ पुगेको छ। यस अवधिमा प्रतिकिलो भान्टा २५ रूपैयाँ बढेर ३५, बोडी ४५ रूपैयाँबाट बढेर ७५, तितेकरेला २३ रूपैयाँबाट बढेर ४५, परबल ७५ रूपैयाँबाट बढेर ८५, घिरौंला ५५ रूपैयाँबाट बढेर ६५, हरियो फर्सी २७ रूपैयाँबाट बढेर ४६ रूपैयाँ पुगेको छ।

त्यस्तै प्रतिकिलो भिन्डीको मूल्य ६६ बाट बढेर ७५ र पालुंगो साग ९३ बाट बढेर एकसय १६ रूपैयाँ पुगेको छ। हरियो धनियाको मूल्य किलोमा ५३ प्रतिशतसम्म बढेको छ। यसैगरी प्रतिकिलो एकसय ४० मा पाइने लसुनको मूल्य बढेर १९२ पुगेको छ। फलफूलको मूल्य पनि बढेको छ। प्रतिकिलो अनार ३१० बाट बढेर ३९०, मौसम १७० बाट बढेर १९०, एभोकाडो ४५० बाट बढेर ५५० रूपैयाँ पुगेको छ।

तरकारीमा भ्याट लगाउँदा उपभोक्ता मारमा परेकाले हटाउन माग गर्दै व्यवसायीले अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गराएको नेपाल कृषिउपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिव मोहन बानियाँले बताए। सरकारको अव्यावहारिक कर नीतिका कारण भान्सा महँगो भएको उपभोक्ता अधिकारकर्मीको आरोप छ। स्वदेशी उत्पादनलाई संरक्षण गर्ने भन्दैमा उपभोक्तालाई उच्च मूल्यवृद्धिको भार पर्नेगरी कर लगाउनु व्यावहारिक नभएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन्। ‘सरकारले भ्याट घोषणा गर्दासाथ बजारमा तरकारी र फलफूलको मूल्य बढेको छ,’ तिमल्सिनाले भने, ‘सरकारले मूल्यवृद्धि नियन्त्रणमा पनि ध्यान दिनुपर्छ।’ सरकारले बजेटमार्फत बोडी, सिमी, प्याज, सागपात, आलु, कोसे तरकारी, केराउ, पालुंगोलगायतका तरकारी तथा सागपातमा कर (भ्याट) लगाउने घोषणा गरेपछि मूल्य बढेको हो।

त्यस्तै फलफूलतर्फ स्याउ, एभोकाडो, किबी फ्रुट, श्रीफल, अमिलो चेरी, स्ट्रबेरी, हलुवावेदलगायत फलफूलमा पनि भ्याट लगाउने घोषणा गरिएको छ। फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ। तरकारी स्वदेशमा कम उत्पादन हुने भएकाले आयातित तरकारीलाई निरुत्साहित गर्न भ्याट लगाउँदा त्यसको प्रत्यक्ष मार उपभोक्तामा परेको हो। नागरिक दैनिकबाट

प्रतिक्रिया