प्रमुख प्रतिपक्षी दल एमाले संसदमा सुस्तायो : ‘प्रधानमन्त्री भारतबाट भैसी चढेर आएको’ भन्ने शब्दले संसदमा हङ्गामा

प्रमुख प्रतिपक्षी दल एमाले संसदमा सुस्तायो : ‘प्रधानमन्त्री भारतबाट भैसी चढेर आएको’ भन्ने शब्दले संसदमा हङ्गामा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.1K
    Shares

आदिवासी नेपालीलाई अल्पमतमा पार्ने गरी जन्मका आधारमा नेपाली नागरिकता लिएका भारतीयहरुलाई बंशजका आधारमा नेपाली नागरिकाता दिने गरी आएको भनिएको नागरिकता संशोधन बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेकोमा चर्को बिरोध गरेका प्रतिपक्षी दलहरु प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिए पछि सुस्ताएका छन्। संसदमा जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले “तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याइएको नागरिकता संशोधन सम्बन्धि अध्यादेशमा नै उल्लेख भएका बुंदाहरु नै हुबहु समेटेर तयार गरिएको नागरिकता सम्बन्धि बिधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरिदिएको” खुलाएका थिए।

प्रधानमन्त्री प्रचण्डको यस जवाफपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नागरिकता सम्बन्धि बिधेयकका बारेमा सुस्ताएको छ। ऊ लगायतका अन्य प्रतिपक्षी दलका सांसदहरुले अहिले बिधेयक सिफारिश गर्ने अधिकार सभामुखलाई रहेको अवस्थामा सरकारले सिफारिश गरेर सभामुखको अधिकार खोसेको कुरा उठाई रहेका छन्।

प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली भुमि लिपुलेक, कालापानी र लिम्पियाधुराको सट्टा बंगलादेश फुलबारी मार्ग लिन सकिने भन्ने आफ्नो अभिव्यक्ति नरहेको र नेपाली भुमि रक्षाको लागि दृढ रहेको बताएका छन्।

यसैबीच, प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले “प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको” भन्ने अभिव्यक्ति दिए पछि केही बेर हङ्गामा भयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए’ भनेका थिए ।

सांसद खनालले यति भन्नासाथ माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्रतिबाद गरे। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसद खनालले भैंसी चढेर आएको भन्ने असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट मेटाउन माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

तर उक्त शब्द हटाउन निर्देशन दिएकामा एमाले र रास्वपाका सांसदहरुले विरोध जनाए । एमाले सांसद रघुजी पन्तले भैंसी चढेर आएको भन्ने शब्द पहिले प्रधानमन्त्रीले नै प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि उक्त शब्द हटाउनुपर्ने माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले प्रयोग गरेपछि आफ्नो पार्टीका सांसदले व्यंग्यस्वरुप उक्त शब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि भैंसी चढेर आएको भन्ने शब्द मेटाउन माग गरे ।

लामिछानेले सत्तापक्षले यति सामान्य व्यंग्य पनि सहन नसकेर सत्तापक्षले संसदमा दादागिरी देखाएको टिप्पणी गरे । सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोलेको भए पनि रेकर्डबाट मेटाइने जवाफ दिए । तर प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि मेटाउन स्पष्ट निर्देशन दिनुपर्ने माग गरे ।

तर सभामुख घिमिरेले देशको प्रधानमन्त्री भारतबाट आउँदा भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डमा रहनु उचित नहुने भन्दै त्यसलाई मेटाउनु उचित हुने भनेपछि प्रतिपक्षी सांसदहरु चित्त बुझाएर बसेका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको उल्लेख गरेको थियो । उक्त विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड ट्रोलको शिकार पनि भएका थिए ।

प्रतिक्रिया