भारतका करोडौं, अर्बौं मान्छेको मनमा चिसो नपसोस भनेर गेरुवस्त्र लगाएको हुँ : प्रम प्रचण्ड

भारतका करोडौं, अर्बौं मान्छेको मनमा चिसो नपसोस भनेर गेरुवस्त्र लगाएको हुँ : प्रम प्रचण्ड


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० जेष्ठ २०८०
  • 3.4K
    Shares

चारदिने भारत भ्रमणबाट स्वदेश फर्किएका प्रम प्रचण्ड

कम्युनिष्ट प्रधानमन्त्री भएर पनि बिरामी रहेकी आफ्नी धर्मपत्नीको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेरु बस्त्रमा उज्जैन मन्दिरमा पुगेर पूजा गरेको भन्दै चौतर्फी बिरोध भएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले त्यसको प्रतिरक्षा गरेका छन्। उनले कतिपयले पत्नीको स्वास्थ्यलाभका लागि मन्दिर गएको भनिए पनि त्यसमा सत्यता नभएको बताए । साथै रुद्राक्ष आफूले नभएर परराष्ट्मन्त्रीले लगेकाले आफूले छोएको मात्र प्रचण्डले बताए ।

चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले चौतर्फी बिरोधको प्रतिरक्षा गर्दै आफू र आफू नेतृत्वको टोली पत्नी सीता दाहालको स्वास्थ्य लाभका लागि भारतको तीर्थस्थल महाकालेश्वर नगएको दावी गरे ।

उनले आफू सो मन्दिरमा गएकोमा पक्ष विपक्षमा टिप्पणीहरु सुनेको भन्दै आफू मनैले धर्मनिरपेक्षवादी भएको बताए । ‘धर्मनिरपेक्षवादी भएको नाताले हिन्दु, मुस्लिम, बुद्धिष्ट सबैप्रति समान दृष्टिकोण राख्नुपर्छ’ उनले भने, ‘उज्जैन भव्य रहेछ । हामी पनि बुद्ध सर्किट बनाउँदैछौ, धार्मिक पर्यटनको प्रयास गरिरहेका छौ । यस्तो अवस्थामा म भारत भ्रमणमा गएका बेला उज्जैन गएका हौ ।’

उनले भने, ‘मैले गेरु वस्त्र नलगाउँदा भारतका करोडौं, अर्बौं मान्छेको मनमा चिसो पस्थ्यो।’ उनले थपे,‘गेरू वस्त्र, कमन्डल लिएर हिँड्नेवाला पनि होइन। यसलाई एउटा संस्कृतिको कूटनीतिको रूपमा लिऔं।’

यस्तै आफू कुनै पनि धर्मविरोधी नभएको पनि उनले प्रष्ट्याए। बरू धर्मनिरपेक्षवादी भएको उनले बताए। ‘म मनैले धर्म निरपेक्षवादी हो। त्यो भनेको विरोधी होइन। म धर्मनिरपेक्षवादी भएकाले सबैलाई सम्मान गर्नुपर्छ,’ उनले भने।

त्यसैगरी रूद्राक्ष चढाएको विषयमा पनि उनले आफ्नी श्रीमतीको स्वास्थ्य अवस्था ठीक हुने भन्ने माग राखेर नचढाएको पनि प्रष्ट्याएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदको प्रस्तावमा रूद्राक्ष लगेको र त्‍यसको पनि प्रवर्द्धन हुने हिसाबले लगेको उनको भनाइ थियो।

उनले आफुु कम्युनिस्टमात्र नभएर प्रधानमन्त्री भएको भन्दै त्यहाँ जाँदा सुरक्षाकर्मीले आफूलाई गेरुबस्त्र नलाउन बल गरे पनि त्यहाँको प्रोटोकल मान्नुपर्ने भएकाले लगाएको स्पस्ट पारे ।

‘महाकालेश्वरमा लाउनैपर्ने रहेछ । मैले नलाउँदा भारतका करोडौलाई चिसो पस्ने भएकाले म सहज ढंगले खुसी भएर लाएको हो’, प्रधानमन्त्रीले भने, ‘एकथरी साथीलाई यो के भयो भन्ने भयो ? कतिपयलाई अब कमण्डलु बोकेर हिँड्ने भयो पनि भने’ प्रचण्डले भने,‘यसलाई सांस्कृतिक कटनीतिका रुपमा किन नबुझ्ने ?’

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिदै आफ्नो निम्तोमा प्रधानमन्त्री मोदीले अनुकूल समय मिलाएर नेपाल भ्रमणमा आउने बताएको प्रधानमन्त्री दाहालको भनाई छ । ‘प्रधानमन्त्री मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको र उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिनुभएको छ,’ प्रधानमन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया