बाँकेमा मंगलबार भएको दुर्घटनामा परी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारीसहित दुइ जनाको मृत्यु भएको छ। धनगढीबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुर आउँदै गरेको बा १ ३च ८२५३ नम्बरको कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै मंगलबार बेलुका साढे चार बजेतिर ठक्कर दिँदा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी ५३ वर्षीया सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बेलुकी ८ बजेतिर मृत्यु भएको सुर्खेतका एसपी योगेन्द्र थापाले जानकारी दिए।
पेसाले डाक्टर रहेकी सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काकी श्रीमती हुन्। डम्बर उपप्रधानमन्त्री खड्काका माइला भाइ हुन्।

नेपाली कांग्रेस सुर्खेतका सभापति तथा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्ग पोखरेलले मृतक डा. सञ्जु उपप्रधानमन्त्री खड्काकी माइली भाइबुहारी भएको बताए।
बाँके जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरका अनुसार सञ्जु सवार कारका चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ।
सञ्जुका श्रीमान डा. डम्बर भने अहिले कार्यक्रममा सहभागी हुन विदेश गएको बताइएको छ।
प्रहरीका अनुसार सञ्जु सवार कारलाई ठक्कर दिने बस सगरमाथा प्रालिको हो। उक्त बसमा २६ जना यात्रु थिए। उनीहरूमध्ये ६ जना घाइते भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। घाइते सबैको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।
प्रहरीले बस नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। कार र बस दुवै तीव्र गतिमा भएका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ।
‘घटनास्थलमा कुनै मोड वा घुम्ती छैन। त्यो भूगोल विश्लेषण गर्दा दुवै सवारी तीव्र गतिमा थिए भन्ने अनुमान गर्न सकिन्छ,’ एसपी राठोरले भने। कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने बसको अगाडिको भागमा क्षति पुगेको छ।