भारतले नेपाललाई नयाँ एयर रुट र एयर स्पेस दिएन, नेपाली टोली रित्तो हात फिर्ता

भारतले नेपाललाई नयाँ एयर रुट र एयर स्पेस दिएन, नेपाली टोली रित्तो हात फिर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ जेष्ठ २०८०
  • 1.4K
    Shares

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भ्रमणका लागि भारत जाँदै छन्। उनी भारत जानुपूर्व नेपाली नागरिकता लिएका भारतीय नागरिकलाई बंशजको आधारमा नेपाली नागरिकता दिन मिल्ने गरी तयार गरिएको भनिएको संसदबाट पारित नागरिकता संशोधन ऐन लागू गर्न प्रम प्रचण्ड लागि परेका छन्। त्यसका लागि उनले अघिल्लो संसदले पारित गरेको र तात्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित नगरी राखेको नागरिकता संशोधन बिधेयकलाई प्रमाणित गरिदिन अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई औपचारिक रुपमै मन्त्रि परिषद बैठकबाट अनुरोध गरेका छन्।

आफ्नो भारत भमणको उपलब्धि देखाउनका लागि प्रधानमन्त्री प्रचण्डले गर्न खोजेको अर्को प्रयास भने विफल हुने जस्तै देखिएको छ। प्रम प्रचण्डले आफ्नो भारत भ्रमणको उपलब्धी बनाउन चाहेको नेपाललाई एयर रुट दिने बिषय सम्भव नहुने देखिएको छ। भारतले नेपाललाई नयाँ एयर रुट र एयर स्पेस नदिएपछि नेपाली सरकारी टोली रित्तो हात नेपाल फिर्ता भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा भारत गएको नेपाली प्रतिनिधिमण्डल नेपाललाई एयर रुट र एयर स्पेस दिने बारेमा भारतमा गरिएका छलफलहरु निष्कर्षमा नपुर्याइ फर्किनु परेको छ । भ्रमण टोलीमा सहभागी एक अधिकारीका अनुसार वार्तामा भारतले आफ्ना चासोहरु व्यक्त गरेपनि कुनै औपचारिक समझदारी गर्न चाहेन ।

नयाँ एयर रुट र एयर स्पेसबारे छलफल गर्न भारत गएको नेपालकाे सरकारी टोली निराश भएर फर्किएको हो । भारतले पुरानै शैलीमा ‘हेरौंला र प्रक्रियामा छौं,’ भन्नेजस्ता जवाफमै वार्ता सकाएपछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमणअघि नयाँ एयर रुटको विषय टुंगो लगाउने नेपालको प्रयास असफल भएको हो । ‘नमिलेका विषयहरु टुंग्याउन कुनै समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएन,’ प्राधिकरण स्रोतले भन्यो,‘भैहरवा र पोखरालाई सहज हुने रुट दिनेबारे भारतीय उदाशीनता फेरि प्रष्ट भयो, हामी रित्तै हात फर्कियाैं । ’

नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रवेश विन्दुसहित एयर रुट माग गर्दै आएको छ । भारतले नेपालबाट उड्ने विमानलाई महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट आफ्नो आकाशमा प्रवेश गर्न रुट खुला राखेको छ । ती विन्दुबाट नेपाल प्रवेश गर्ने अनुमति दिन भने वर्षौंदेखि आनाकानी गरिरहेको छ ।

नेपालले लामो सयमदेखि पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरका हवाई प्रवेश विन्दु र रुट दिन भारतलाई आग्रह गर्दै आएको छ । ३२ अर्बभन्दा बढी लागतको भैरहवा विमानस्थल र महँगो चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पश्चिम नेपालका हवाई प्रवेश विन्दुसहितका रुट अत्यावश्यक छ । भारतले पश्चिमबाट एयर रुट दिए यो विमानस्थलमा उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु आकर्षित हुने ती विमानस्थलका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया