सर्लाहीमा साहुकारले बाँकी ऋण मिनाहा’ गर्दै फिर्ता गरे मिटरब्याज पीडितका १७ तमसुक

सर्लाहीमा साहुकारले बाँकी ऋण मिनाहा’ गर्दै फिर्ता गरे मिटरब्याज पीडितका १७ तमसुक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.9K
    Shares

मिटरब्याजविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन थालेपछि सर्लाहीका एक सुदखोर ९साहुकार० ले १७ जना ऋणीको तमसुक फिर्ता गरेका छन्। सर्लाहीको हरिपुर नगरपालिका-६ लक्ष्मीपुर निवासी सुदखोर ओसी मन्सुरले स्थानीय १७ जना ऋणीको तमसुक फिर्ता गरेका हुन्।

उनले ऋणीले तिर्न बाँकी ऋण(सावाँ र ब्याजसमेत) मिनाहा गर्दै आफूसँग भएका तमसुक फिर्ता गरेको मिटरब्याजविरुद्धको संघर्ष समिति सर्लाहीका सचिव सोनठी चौधरीले जानकारी दिए।

माओवादी केन्द्रका नेता सुनिल बुढाथोकी, मिटरब्याजविरुद्धको संघर्ष समिति सर्लाहीकी संयोजक रुक्मिणी चौधरी, सचिव सोनठी चौधरीलगायतको उपस्थितिमा दुई दिनअघि साहुकार ओसी मन्सुरले स्थानीय ऋणीहरुको तमसुक फिर्ता गरेका हुन्।

आफ्नै घरमा भएको छलफलमा साहुकार मन्सुरले १७ जना ऋणीको बाँकी ऋण मिनाहा गर्दै तमसुक फिर्ता गरेको माओवादी केन्द्रका नेता बुढाथोकीले जानकारी दिए।

सुदखोर मन्सुरले मिटरब्याजका रुपमा झण्डै १० वर्षअघिदेखि रकम असुल्ने हतियार तमसुक फिर्ता पाएपछि ऋणीहरु खुसी भएका छन्। गरिब, असहाय ऋणीहरुले ऋण तिर्ने कुनै पनि आधार नदेखेपछि उनीहरुको बाँकी सबै ऋण मिनाहा गरेर आफूसँग भएका सबै कपाली तमसुक फिर्ता गरेको मन्सुरले बताए।

१७ जना ऋणीले कपाली तमसुक गरेर विभिन्न मितिमा मन्सुरसँग ३० हजारदेखि ५ लाख रुपैयाँसम्म ऋण लिएका थिए। मन्सुरसँग स्थानीय सदरुल खातुनले ५ लाख, अलाउदिन मन्सुरले ४ लाख, ऐमुन खातुनले ४ लाख, कलामुन खातुनले ३ लाख ६० हजार, नाजमु खातुनले ५ लाख, गफार मन्सुरले ४ लाख, अलाउदिन मन्सुरले १ लाख, बिरमनियादेवी चौधरीले २ लाख ५० हजार, यमुना खातुनले ४ लाख रुपैयाँ ऋण लिएका थिए।

ऋणीहरुलाई तमसुक फिर्ता गरे पनि उनले अहिलेसम्म सम्बन्धित ऋणीबाट कति रुपैयाँ असुल गरे भन्ने कुरा खुलेको छैन। साहु र ऋणी कसैले पनि यस विषयमा प्रस्ट जानकारी गराएका छैनन्। तर, छलफलमा सहभागी मिटरब्याजविरुद्धको संघर्ष समिति सर्लाहीका सचिव सोनठी चौधरीले कतिपय ऋणीसँग उनले लगानी गरेको रकमको सावाँसमेत असुल नगरी तमसुक फिर्ता गरेको दाबी गरेका छन्। कतिपय ऋणीसँग उनले यसअघि नै अनुचित ढंगले सावाँ(ब्याज असुल गरिसकेको अनुमान पनि गरिएको छ।

प्रतिक्रिया