सिन्धुलीमा गर्भवती मृत्यु प्रकरणको वार्ता मिलेपनि थामिएन झडप,दर्जनौं अश्रुग्यास प्रहार

सिन्धुलीमा गर्भवती मृत्यु प्रकरणको वार्ता मिलेपनि थामिएन झडप,दर्जनौं अश्रुग्यास प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० जेष्ठ २०८०
  • 2.6K
    Shares

सिन्धुलीमा गर्भवती मृत्यु प्रकरण

सिन्धुलीमा प्रसुती गराउन अस्पताल आएकी गर्भवती महिलाको मृत्युका विषयलाई लिएर उत्पन्न तनावलाई लिएर छानविन समिति गठन भएको छ ।
अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पिडित पक्षबीच वार्तामा तीन बुँदे सहमति भएको छ। वार्तामा घटनाका विषयमा सत्य तथ्य छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएको छ।

समिति गठनका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्।
उनका अनुसार समितिमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट तोकिएका चिकित्सक दुईजना, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि एक जना र पिडित पक्षबाट आमन्त्रित एक जना गरी चार सदस्यीय समिति गठन गरिने छ।

कमलामाई नगरपालिका ५ सिलामेकी २६ वर्षकी गंगाकुमारी गुरुङ श्रेष्ठको प्रसुती गराउन सिन्धुली अस्पताल ल्याएको थियो। डाक्टरले प्रयोग गरेको सुइका कारण मृत्यु भएको पिडित पक्षको आरोप छ। अस्पतालमा श्रेष्ठको प्रसुती सम्भावना नभएपछि दिउँसो ३ बजेर २० मिनेट जाँद महोत्तरीको बर्दिबास स्थित ट्रमासेन्टरमा पठाएको थियो। पाँच बजे चेकजाँच हुँदा गर्भवती महिलाको मृत्यु भएको घोषणा भएपछि पिडिले सिन्धुली अस्पतालमा शव ल्याएर आन्दोलन सुरु गरेका थिए।

‘यस दुःखद घटनाको विषयमा मंगलबार राती नै त्रिपक्षीय वार्ता बसिएको भए पनि सहमति हुन नसकेपछि स्थगित वार्ता बुधबार पुनः बसी तीन बुँदे सहमति भएको छ। सहमति अनुसार आन्दोलन फिर्ता, राजमार्ग सुचारु र अस्पतालका सेवा सुचारु भएका छन,’ नेपालले भनिन्।

यस्तै अस्पताल व्यवस्थापनबाट अस्पतालका आन्तरिक सुधार, स्वास्थ्यकर्मीहरुको व्यवहार परिवर्तन गर्ने, मृतकको शव परिवारले बुझ्ने र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति गरिएको छ।

सहमतिभएसँगै दुई दिनदेखि तनावग्रस्त सिन्धुली अस्पतालको अवस्था सामान्य बनेको छ। आक्रोशित भिडले बुधबार बिहानैदेखि अवरुद्ध गराएको विपी राजमार्ग सूचारु भएको छ।

पिडित पक्षले मंगलबार साँझदेखि नै अस्पतालमा आन्दोलन गरेपछि अस्पतालका सबै सेवा अवरुद्ध भएका थिए।
घटनाका विषयमा छानविन गर्न समिति गठन गर्ने सहमति पछि मृतकको शव बुझ्ने र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको मृतकका काका तुलबहादुर गुरुङले बताए।
कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पूर्व स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, पूर्व प्रदेश सभा सदस्य विनोद खड्का, वडा अध्यक्ष कर्ण घिसिङ, मृतकको जेठाजु सोमबहादुर श्रेष्ठ, काका तुलबहादुर गुरुङ, अस्पताल विकास समितिका अध्यक्ष सतिश ढकाल र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड उमेश प्रधानबीच भएको वार्तामा सहमति भएको हो।

सहमति अनुसार मृक्तकको शव आजै बुझ्ने र अन्त्येष्टि गरिने तयारी गरिएको पनि गुरुङले बताए। आक्रोशित भिडका कारण अस्पतालको इमरजेन्सी कक्ष, ओपिडि, औषधी पसल, क्यान्टिन, सामुदायिक आँखा अस्पातालको भवनमा क्षति पुगेको छ।

प्रतिक्रिया