झन्डै डेढ महिनादेखि जापानमा बेपत्ता रहेकी चितवनकी एक युवती समुद्री किनारमा मृत भेटिएकी छिन्। करीब एक वर्ष अघि मात्र अध्ययनका लागि जापान पुगेकी भरतपुर महानगरपालिका–१२ की आरती खनाल समुद्री किनारमा मृत भेटिएकीहु हुन्। मार्च १७ देखि हराइरहेकी खनाल मे ८ मा समुद्रको नजिकै मृत भेटिएको जापानस्थित ओसाका प्रहरीले पुष्टि गरेको छ।
उनको के कारणले मृत्यु भएको हो भन्ने कारण खुलाइएको छैन । शवको प्रकृति अनुसार पानीमा डुबेर मृत्यु भएजस्तो देखिएको बताइएको छ । शवको नजिकै खनालले प्रयोग गर्ने गरेको साइकलको चाबी र साथबाट करिब नौ हजार येन फेला परेको बताइएको छ । उनको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको र प्रहरीको अन्तिम रिपोर्ट आउन बाँकी रहेको आरतीको भिनाजु हरिप्रसाद न्यौपानेले जानकारी दिए।
आरती हराउनुभन्दा एक दिन अघिमात्र परिवारसँग सम्पर्क भएको आमा राधिका खनालले बताइन्। उक्त कुराकानीमा उनले राम्रोसँग काम गरिराखेको भए पनि पछिल्लो समयमा पढ्न भने कठिन रहेको आमालाई बताएकी थिइन्। उनले भनिन्, ‘वैशाख १५ गते क्याम्पसको शुल्क तिर्नुपर्छ भनेकी थिइन् । काम गर्न नसके पैसा पठाइदिन्छु भनेको थिएँ । गएको ऋण तिर्नुपर्छ भन्ने कुनै टेन्सन दिएका थिएनौं ।’
खनालको परिवारले आफ्नो छोरीको मृत्युको कारण हत्या भएको हुनसक्ने दाबी गर्दै कानुनी प्रक्रियाका लागि आवश्यक पहल गरिदिन सम्बन्धित सरोकारवालालाई अनुरोध गरेका छन् ।
जापानको ओशाका सिटीको इकोनो कु काट्सुयामा कित्ता १–३–२ मा बस्ने आरती विद्यार्थी भिषामा एक वर्षअघि जापान आएकी थिइन् । उनी एक वर्ष पहिले चितवनका अकारुई एजुकेशन कन्सल्टेन्सीबाट जापान गएकी थिइन् ।