नक्कली भुटानी प्रकरण : क-कसले पोले अन्य ठुला नेतालाई ? (हेर्नुस बिस्तारमा)

नक्कली भुटानी प्रकरण : क-कसले पोले अन्य ठुला नेतालाई ? (हेर्नुस बिस्तारमा)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० जेष्ठ २०८०
  • 1.9K
    Shares

प्रहरी नियन्त्रणमा आमनेसामने टोपबहादुर रायमाझी र बालकृष्ण खाँड

नक्कली भुटानी प्रकरणमा प्रहरीले छानबिन गरेर आफ्नो प्रतिबेदन कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बुझाए संगै प्रहरीसंग अभियुक्तहरुले दिएका बयानहरू सार्वजनिक भएका छन्। हाल प्रहरी हिरासतमा रहेका अभियुक्तहरुले दिएको बयान हेर्दा पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउबासम्म तानिन सक्ने संकेतहरु गरेका छन्। अद्यापि प्रहरी अनुसन्धानले तत्काललाई प्रमाण नपुगेको भन्दै अनुसन्धानमा तान्न सकेको छैन। तर प्रमाण पुग्दाको दिन जो कोहिबिरुद्ध पक्राउ पुर्जी जारी हुन सक्ने भनिएको छ।

नक्कली भुटानी प्रकरणमा हालासम्माकी ठुलो माछा ठानिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीले त प्रकरणमा संलग्नहरुबीचको लेनदेनका क्रममा गृह मन्त्रालयभित्रै विवाद भएको खुलाई दिएका छन्। उनी अहिले यसै प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा छन्। पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले आफू कामविशेषले गृह मन्त्रालयमा जाँदा लेनदेनको विवाद प्रत्यक्ष रुपमा सुनेको प्रस्ट पारिदिएका छन् । ‘कामविशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको हुँदा म पनि कार्यकक्षमा छिरे’, १६ पुस २०७७ को घटना भन्दै उनले बयानमा खुलाएका छन्, ‘त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ ।’

कार्यकक्षबाट बाहिर निस्केपछि आफूले सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट (नक्कली) काम त गरेका छैनौ भनेर सोधेको उनको दाबी छ । त्यसक्रममा उनीहरुले भुटानी शरणार्थीको मामिलामा काम गरेको स्वीकारेका छन् ।

उनीहरुको भनाइ उद्धृत गर्दै रायमाझीले बयानमा भनेका छन्, ‘हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला र भनी प्रतिप्रश्न गरेका थिए ।’

उनले भुटानी शरणार्थीको विषयमा कार्यदल बन्नुअघि नै आफूलाई जानकारी भएको स्वीकारेका छन् । सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा ‘टोपबहादुर मामा’ भनी रायमाझीको नाममा पैसा भुक्तानी भएको विवरण भेटिएको थियो । डायरीमा उल्लेख भए पनि आफूले कसैसँग रकम नलिएको दाबी रायमाझीले गरेका छन् ।

उनले केवल पौने घण्टामा घुमेर आउन सकिन्छ भनेकाले आफू केशव दुलाल र सानु भण्डारीसँग हेलिकप्टरमा गोसाईंकुण्ड घुम्न गएको उल्लेख गर्दै बयानमा भनेका छन्, ‘म उनीहरुको कुरामा सहमत भई गोसाईंकुण्ड गई फोटो खिचाइ फर्किएका हौं । म सो ठाउँमा घुम्न जाँदाको अवस्थामा मैले सामान्य रुपमा लिएको थिएँ ।’

उनले आफ्नो छोरा पक्राउ परेको, पक्राउपछि हत्कडी लगाएको खबर सुनेकाले मन बिग्रिएको भन्दै त्यसपछि सम्पर्कविहीन भएको बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘मेरो छोरा पक्राउ परी हत्कडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हत्कडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ, सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हो ।’

प्रहरी परिसर, काठमाडौं उच्च स्रोतबाट प्राप्त रायमाझीको बयानको विवरण

शरणार्थी प्रकरणमा मुछिएका केशवप्रसाद दुलालसँग सुजाता कोइरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो । सानु भण्डारी मेरो छिमेकी भएको हुँदा चिनजान भएको हो । सचिव टेकनारायण पाण्डे मेरो जिल्लावासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो । इन्द्रजित राईसँग पार्टीको कामको सिलसिलामा चिनजान भएको हो । पूर्वमन्त्री बालकृष्ण खाँणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ ।

टोपबहादुर रायमाझी , top bahadur rayamajhi
टोपबहादुर रायमाझी , top bahadur rayamajhi

भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपायहरू पहिल्याउन बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएकोसम्म जानकारी छ, त्यो बाहेक अन्य कुरा मलाई जानकारी भएन । मैले इन्द्रजित राईलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत हो ।

इन्द्रजित राई र प्रतिवादी सानु भण्डारीबीचको लेनदेन विषयमा उहाँहरुले जान्ने कुरा हो, मलाई जानकरी छैन । उहाँले मलाई दिएको भनेको कुनै रकम लिएको छैन, सन्दीप रायमाझी (छोरा) को खातामा जम्मा गरेको रकम सम्बन्धमा उनैले नै स्पष्ट पार्ने छन् ।

सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा मेरो नाम लेखी पटक पटक मलाई रकम दिएको भनेको कुरामा सत्यता छैन । उनीहरुले के कुन प्रयोजनको लागि उक्त कुरा लेखेका हुन् मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन ।

मेरो छोरा सन्दीप रायमाझीसँग कम्पनीमा साझेदारीको कुरा सन्दीपले दिएको बयानबाट नै देखिन्छ । मलाई रकम दिएको भन्ने जति पनि विवरणहरु छन, त्यसमा कुनै आधार र सत्यता छैन, उनले ठूलो रकमको चेक काटेर आफ्नै घरमा राखेको सवाल होस् वा आफ्नो डायरीमा विभिन्न प्रकारका रकमहरु के–कुन प्रयोजनका लागि लेखेका हुन मलाई जानकारी भएन ।

केशवप्रसाद दुलाल र सानु भण्डारीले हामीहरुको भेटघाट नभएको धेरै समय भयो, व्यावसायिक साथीहरुले हेलिको व्यवस्था गरेका छन, गोसाईंकुण्ड गई फ्रेस भएर आउनुपर्‍यो भनी मलाई केशवप्रसाद दुलालले आग्रह गरेको र मैले समय छैन भन्दा उनीहरुले धेरै समय लाग्दैन जान आउन ३० मिनेट, १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्र हो भनेको हुँदा म सहमत भई गोसाईंकुण्ड गई फोटो खिचाई फर्किएका हौं।

इन्द्रजित राई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन् । कामविशेषले गृह मन्त्रालय जाँदा मैले प्रायः इन्द्रजित राईलाई नै बढी भेट्ने गरेको थिएँ । २०७७ पुस १६ गते म आफ्नै कामविशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल सुनें । ठूलो स्वरमा आवाज आएको हुँदा म पनि कार्यकक्षमा छिरे, त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ ।

कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशवप्रसाद दुलाललाई ‘डुप्लिकेट काम गरेका त छैनौ ?’ भनी सोध्दा निजहरुले हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौ होला र भनी प्रति प्रश्न गरेका थिए । इन्द्रजित राईलाई सानु भण्डारीसँग मैले परिचय गराइदिएको भन्ने कुरा सत्य होइन ।

भुटानी शरणार्थीको विषयमा कार्यदल बनाउनेसम्मको कुरा मलाई थाहा छ, उक्त समितिका संयोजक बालकृष्ण पन्थी मेरो छिमेकी जिल्ला र सहसचिव समेत भएको हुँदा चिनजान थियो । मैले यो विषयमा सुरुदेखि नै आफ्नो धारणा स्पष्ट राख्दै आएको छु, बाँकी रहेका पीडित भुटानी शरणार्थीहरुको दीर्घकालीन समाधान हुनुपर्दछ भन्ने मेरो धारणा रही आएको छ ।

गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कामले नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुन्छ भन्ने मलाई लाग्छ ।

मेरो छोरा पक्राउ परी हत्कडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हत्कडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ, सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हो । कदम रोकिएको मात्र हो, आफैं सम्पर्कमा आउने क्रममा थिएँ ।

खाँणको बयान : नक्कली शरणार्थी बनाउने काम ठीक होइन, मैले सोच्न पनि सक्दिनँ

पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालमा मन्त्रालयबाट प्रतिवेदन फेरबदल भएको काममा आफू संलग्न नभएको जिकिर गरेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई बयान दिने क्रममा उनले कतिपय अधिकार प्रत्यायोजन गरिएको भन्दै अभिलेख राख्ने जिम्मेवारी प्रशासनिक प्रकृतिको हुने भनी सचिवलाई त्यसबारे बुझ्न आग्रह गरेका हुन् ।

‘मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरेको हुन्छ, तसर्थ मन्त्रालयको अभिलेखहरुको सुरक्षा गर्ने जिम्मेवारी समेत तोकिएको छ’ उनको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो– ‘एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्दैन । मन्त्रालयको कागज पत्र, प्रतिवेदन, सम्झौता लगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ, यो मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो ।’

उनले आफूले भुटानी शरणार्थीहरुलाई मानवीय रुपमा निकै सहयोग गरेको दावी गर्दै नक्कली शरणार्थी प्रकरणमा आफू संलग्न नभएको जिकिर समेत गरेका छन् । पक्राउ पर्नुअघि नै मोबाइल सेट (फर्म्याट) गरेका उनले बयानका क्रममा त्यसबारे कुनै जानकारी नभएको जिकिर गरेका छन् ।

प्रहरी स्रोतबाट प्राप्त उनको बयानको सम्पादित अंश :

मोबाइलमा कुरा गर्दै बालकृष्ण खाँड
मोबाइलमा कुरा गर्दै बालकृष्ण खाँड

टेकनारायण पाण्डे सचिव भएको कारण चिनेको हूँ । नरेन्द्र के.सी. मेरो निजी सचिव थिए । टोपबहादुर रायमाझी संविधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री समेत भएकोले चिनजान छ । मैले २०७८ साल असार २९ देखि २०७९ पुससम्म गृहमन्त्रीको रुपमा कामकाज गरेको थिएँ ।

म गृहमन्त्री रहँदा संविधान र कानुनको अधीनमा रही देशमा शान्तिसुरक्षा रअमनचयन कायम गर्ने लगायत मन्त्रीले गर्नुपर्ने काम इमानदारीपूर्वक सम्पादन गरेको हुँ । बरामद कालो रङको डायरीमा लेखिएको अंक र अक्षर मेरो हो । सो बाहेक अन्य थप दुई वटा कालो रङ, एउटा खैरो रङको डायरी र सम्पत्ति विवरण भरिएका पाना–३८ समेत मेरो हो ।

भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन सोही कार्यदलका साथै सम्बन्धित निकाय र महाशाखालाई जानकारी होला ।

गृह मन्त्रालयको मिति २०८० वैशाख २६ गतेको पत्र साथ प्राप्त कागजातहरू हेर्दा २०७६ साल कात्तिक १ गते समितिले प्रस्तुत गरेको प्रतिवेदनमा संयोजक बालकृष्ण पन्थी, विज्ञ गणेशबहादुर के.सी. रहेको दुई जनाले दस्तखत गरेको देखिन्छ ।

तत्कालीन मन्त्री (रामबहादुर थापा)ले तत्कालीन सचिव (प्रेमकुमार राई)को नाममा प्रतिवेदनको अध्ययन तथा कार्यान्वयन अगाडि बढाउन भनी तोक लगाई प्रक्रिया बढाएको देखिन्छ । भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन तत्कालीन गृहमन्त्री (थापा) को पालामा लिने काम भएको हो ।

भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल भए पश्चात् गरिएका निर्णयहरु कार्यान्वयनका लागि मन्त्रिपरिषद समक्ष प्रस्ताव पेश गर्न मैले २०७८ मंसिर १२ गते स्वीकृत दिई प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको हो ।

कार्यसम्पादन नियमावली अनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्छन्। मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषदले प्रस्ताव पारित गर्ने गरिएको छ । भुटानी शरणार्थी सम्बन्धी समस्या समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव मन्त्रिपरिषदमा पेश भयो । कागजातहरु के–के पेश भए मलाई अहिले सम्झना भएन ।

नेपाल सरकार कार्य सम्पादन नियमावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरुको कार्य क्षेत्र तोकेको छ । मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ । मन्त्रालयको अभिलेखहरुको सुरक्षा गर्ने जिम्मेवारी समेत तोकिएको छ, एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्दैन ।

मन्त्रालयको कागजपत्र, प्रतिवेदन, सम्झौता लगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ, जुन मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो । पूर्ववर्ती सरकारले भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागि अगाडि बढाएको अवस्थामा भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषदमा उक्त समयमा नै प्रस्ताव प्रस्तुत गरेको हो । त्यो प्रस्तावलाई नै निरन्तरता दिएको हो ।

म गृहमन्त्री भएपछि देशमा शान्ति सुव्यवस्था र अमनचयनका लागि गृह मन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार अधिकृतहरुलाई निर्देशन दिंदै आएको थाहै छ । यसै सन्दर्भमा भुटानी वा तिब्बती शरणार्थीहरुले कुनै अवाञ्छनीय गतिविधि नगरुन् भनी त्यसका लागि पनि निर्देशन दिंदै आएको थिएँ ।

शरणार्थीहरुलाई मानवीय रुपमा सम्बोधन गर्नु दायित्व हो, पछिल्लो पटक भुटानी शरणार्थीहरुलाई अन्तर्राष्ट्रिय दातृ निकायहरुले सहयोग रोकेको अवस्थामा उनीहरुलाई जीवन जिउन असहज भएको थियो । त्यसलाई ध्यानमा राखेर शरणार्थीहरुले पनि सरकारी वा सामुदायिक विद्यालयहरुमा पढ्न पाउने, आधारभूत स्वास्थ्य सेवाको अवसर प्रधान गर्नुका साथै सरकारी अस्पतालमा उचारको सुविधा प्रदान गर्ने, सामान्य व्यापार व्यवसाय गर्नुका साथै कृषिजन्य उत्पादन गर्न सामूहिक खेतीका लागि जग्गा लिजको प्रबन्ध गर्ने लगायत व्यवस्था गरिएको हो ।

उनीहरुको जीवन जिउन सहज बनाउन मन्त्रिपरिषदले भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव पास गरिएको हो । यो प्रस्ताव भुटानी शरणार्थीहरुको व्यवस्थापनका लागि असल मनसायले गरिएको हो । शरणार्थीका नाममा अवाञ्छनीय गतिविधि रोक्नका साथै कसैलाई पनि भ्रममा नपर्न मन्त्रालयले विभिन्न समयमा परिपत्र समेत गरेको थियो ।

यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, शरणार्थी समन्वय इकाई बेलडाँगी झापाबाट मिति २०७८ मंसिर ३ गते भुटानी शरणार्थी शिविर बेलडाँगीका सम्पूर्ण शिविरवासीहरुलाई सूचना निकाली जानकारी समेत गराइएको, यसैगरी समय–समयमा निर्देशनहरु पठाइरहेको हो ।

भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन । मेरो मोबाइल फ्याक्ट्री रिसेट (फर्म्याट) कसरी भयो मलाई थाहा भएन ।

म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवि उच्च राख्ने काम गरेको छु । कोभिडको समयमा भुटानी शरणार्थी तथा तिब्बतियन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनुपर्ने अवस्थामा समेत मैले पहल गरी निजहरुलाई भ्याक्सिन लगाउने काम गरेको हुँ । जसको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेका थिए । गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काम ठीक होइन, मैले सो काम सोच्न पनि सक्दिनँ ।

 

 

नक्कली शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजित राईले आफूले रकम बुझे नबुझेको बारे बैंकमै बुझ्न भनेका छन्। हिरासतमा रहेका उनले प्रहरीलाई दिएको बयानमा बिचौलियासँग गृहमन्त्रालयमै भेट भएको भने स्वीकारेका छन्। राई तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार थिए। उनले सानु भण्डारी गृहमन्त्रालयमा एकदुई पटक आएको र एकपटक आउँदा केशव दुलाल पनि सँगै आएको बयान दिएका छन्।

यस्तो छ इन्द्रजित राईको बयान

प्रतिवादी सानु भण्डारी कार्यालयमा १/२ पटक आउनु भएको थियो। उहाँसँग १ पटक एउटा व्यक्ति केशव दुलाल पनि आउनु भएको थियो। निजहरूको विषय भुटानी शरणार्थी सम्बन्धमा मसँग एक दुई पटक टेलिफोनद्वारा मलाई सोध्नु हुन्थ्यो। मैले उहाँहरूलाई यस विषयमा मेरो केही जानकारी छैन भनेर जवाफ दिएको थिएँ। सानु भण्डारीबाहेक अरु कसैलाई म चिन्दिन। म गृह मन्त्रालयमा कार्यरत हुँदा दिनमा थुप्रो मान्छेहरूसँग विभिन्न विषयहरूमा कुराकानी हुन्थ्यो। त्यसमा निजले भुटानी शरणार्थीको बारेमा के हुँदै छ भनी जानकारी लिन खोज्नु भएको थियो।

इन्द्रजित राई
इन्द्रजित राई

मैले केही थाहा नभएको र यस विषयमा मैले केही सूचना दिएको छैन। तत्पश्चात निज सानु भण्डारीसँग मेरो फोनमा तथा सामाजिक सञ्जालमा कुराकानी भएको हुन सक्छ। कति पटक कुरा भयो भन्ने मलाई याद भएन तर भुटानी शरणार्थीको विषयमा केही कुराकानी भएको छैन। केशवप्रसाद दुलालसँग मेरो कुराकानी भएको छ छैन मलाई याद भएन। म तत्कालीन गृहमन्त्री रामबहादुर थापा गृहमन्त्री भएको ३ महिनापछि लगभग २०७६ असारदेखि कार्यरत रहेको र उक्त सरकार बहाल रहुन्जेलसम्म कार्यरत रहेको हुँ।

सो अवस्थामा म विशिष्ट श्रेणीमा सुरक्षा सल्लाहकारको रुपमा कार्यरत रहेको हुँदा सोही अनुसारको सेवा सुविधा समेत राज्यबाट पाएको थिएँ। मेरो ३ वर्ष ६ महिनाको कार्यकालमा विभिन्न समयमा भिन्न भिन्न चालक, पिए र कार्यालय सहयोगी एवम पीएसओहरू कार्यरत रहे। निजहरूको सबैको नाम मलाई याद भएन। धेरै समय काम गरेका व्यक्तिहरू मध्ये पीएसओमा मगर थरका सई थिए। ड्राइभरमा सहायक हवल्दार डोलराज पाण्डे थिए। पिएमा रोमा पाण्डे हुन्। अन्यको नाम थाहा भएन।

सम्पूर्ण आरोप सबै शत प्रतिशत असत्य हो। निजले भनेको आरोप सिद्ध प्रमाणित भएमा सजायको भागिदार हुने छु। यो समिति म कार्यरत रहेकै समयमा गठन भएको हो तर समिति गठन भएको १ दिनपछि मैले यो समितिको बारेमा जानकारी प्राप्त गरेँ। सो समयमा म सल्लाहकारको रुपमा कार्यरत भएकोले मेरो हस्ताक्षर मन्त्रालयको आधिकारीक नहुने कारणले मलाई यो जानकारी पछि प्राप्त भयो। सबै मनगढन्ते कुरा हो। थापाथलीको आँगन होटलमा मेरो र सानु भण्डारीसँग कहिलै पनि भेट भएको छैन।

मेरो जानकारी अनुसार कुनै पनि व्यक्ति शरणार्थीको विषयलाई लिएर प्रेम राईको कार्य कक्षमा कहिल्यै पनि नगएको हुँदा उक्त आरोप प्रेम राई तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको नाम मुछेर उनीहरूलाई व्यर्थमा बदनाम गर्ने कु लक्षित प्रयास हो। उक्त घर मेरो श्रीमती भुवनदेवी राईको नाममा मेघा बैंक त्रिपुरेश्वरबाट ऋण लिई खरिद गरेको हो। उक्त घर सुमिता केसीबाट विगत २ वर्ष अगाडितिर खरिद गरेको हुँ, खरिद गरेको विवरण बैंकबाट जानकारी लिन सकिन्छ। मैले उक्त घर खरिद गर्दाको अवस्थामा घर धनीलाई नै रकम दिएको भन्ने कुरा झुठ्ठा हो।

आरोपितले लगाएको सबैमाथिको आरोपहरू जस्तै तथ्यहिन र प्रमाणविहीन आरोपहरू हुन्, यो आरोप पनि उसले आफ्नो बयानमा भनेको कुराहरू हो र उसैको डायरीमा पाईएको कुराहरू हो। जसको सत्यता माथि सिधा प्रश्न उठ्छ र यो मनगढन्ते, कपोकल्पित आरोप हो। आरोप प्रमाणित भएमा सजायको भागिदार हुने छु। काल्पनिक ब्यहोरा मैले दिएको भनेर ममाथि आरोप गलत हो, मैले उपरोक्त सबै आरोपित बुँदाहरूको जवाफ माथि उल्लेखित मेरो जवाफमा दिएकै अनुसार सत्य हो। जहाँ मूल्य रु १,५०,००,०००। (एक करोड पचास लाख) र रु २,००,००,०००। (दुई करोड) गरी जम्मा रु ३,५०,००,०००। (तीन कारोड पचास लाख) सवाल छ, बैंकमा साटिएको छ/छैन सम्बन्धित बैंकबाट जानकारी लिन अनुरोध छ।

 

 

 

 

 

तत्कालीन गृहसचिव पाण्डेको बयान : सूचनाका लागि गिरोहसँग सम्पर्क गरेंं
नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले अनुसन्धान प्रयोजनका क्रममा सूचना संकलन एवं विश्लेषणका लागि आफूले शरणार्थी प्रकरणका गिरोहसँग सम्पर्क गरेको दावी गरेका छन् ।

टेक नारायण पाण्डे
टेक नारायण पाण्डे

पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले सूचना संकलनका लागि विवादास्पद व्यक्तिसँग सम्पर्क भएको र भुटानी शरणार्थीको प्रक्रिया टुंग्याउन त्यसको उपयोग गरिएको दावी गरेका छन् ।

‘सम्पर्कमा आउनेमध्ये अनुसन्धान प्रयोजनको लागि आवश्यक ठानिएका व्यक्तिसँग सूचना संकलन गर्न, सूचनाको विश्लेषण गर्न एवं आवश्यक निर्णय गर्न सूचनाको उपयोग गर्न सक्छ’ पाण्डेको बयान उद्धृत गर्दै प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यो सूचना भुटानी शरणार्थीको विषयलाई एउटा टुङ्गोमा पुर्‍याउन निर्णय प्रक्रियाका लागि उपयोग गरिएको छ’, उनलाई प्रहरीले किन बारम्बार बिचौलियासँग सम्पर्क गरेको भनी सोधेको थियो ।

आफ्नै कार्यकालमा भुटानी शरणार्थीको नाममा नेपालीलाई विदेश पठाउने चलखेल रोकिएको भन्दै सचिव पाण्डेले शरणार्थीको नाममा उठाएको पैसा फिर्ता गर्नु परेपछि बिचौलियाले प्रतिशोधको रुपमा आफ्नो नाम मुछेको दाबी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग सम्पर्क भएको विषय पटक पटक स्वीकार्दै उनले गृह मन्त्रालय राजनीतिक प्रकृतिको र जनसम्पर्क हुने मन्त्रालय भएकाले विभिन्न व्यक्तिहरुसँगको सम्पर्कलाई अन्यथा लिन नहुने बयान दिएका छन् ।

‘सूचना, गुप्तचरी र अनुसन्धानकै क्रममा निजसँग सम्पर्क भएको, प्राप्त सूचना र सम्पर्कको राजनीतिक नेतृत्वलाई समय–समयमा जानकारी गराउने गरेको थिएँ’ उनले बयानमा भनेका छन्, ‘प्राप्त सूचना समेतको आधारमा भुटानी शरणार्थीको समस्या माथिको विकृतिजन्य अवस्थाको अन्त्य गर्न नेपाल सरकार र गृह मन्त्रालयबाट आवश्यक निर्णय भएको थियो ।’

उनले रकम लेनदेनको उद्देश्यले सम्पर्क स्थापित नगरेको दाबी गरेका छन् । आफू नयाँदिल्लीमा उपचारमा जाँदा मोबाइल बिग्रेकाले डाटा हराएको दाबी समेत गरेका छन् ।

प्रहरी उच्च स्रोतले उपलब्ध गराएको टेक नारायण पाण्डेको बयानको संक्षिप्त अंश :

केशवप्रसाद दुलालबाहेक कसैसँग पनि मेरो चिनाजान र सम्पर्क छैन ।

शरणार्थीसम्बन्धी प्रतिवेदन मेरो कार्यकालमा तयार भएको होइन ।

मेरो कार्यकालभन्दा पहिले नै प्रतिवेदन तयार भएको हो । प्रतिवेदनमा शरणार्थीको नाममा व्यक्तिको नामावली समावेश भएकाले त्यतिबेला नै लेनदेनको काम भएको हो ।

म कार्यरत रहँदाको समयमा परिचय पत्रहरु वितरण गर्ने कार्य भएन, शरणार्थी सम्बन्धी कार्य मन्त्रालयको स्थानीय प्रशासन शाखाले गर्दछ ।

शरणार्थीको नाममा हुने अवैध चलखेल प्रति सचेत रहन शरणार्थी इकाई झापा र जिल्ला प्रशासन कार्यालय झापावाट सूचना तथा विज्ञप्ति जारी भएको थियो ।

गृह मन्त्रालय राजनीतिक प्रकृतिको तथा जनसम्पर्क मन्त्रालय भएकाले राजनीतिक रुपमा, व्यक्तिगत रुपमा र सुरक्षा तथा गुप्तचरी प्रक्रियाबाट सम्पर्क गर्ने तथा थप सूचना लिनुपर्ने हुन्छ । त्यसक्रममा कतिपय व्यक्तिसँग सम्पर्क भएको हो ।

उक्त सूचना प्राप्त भएपछि एअरपोर्टका तत्कालीन प्रहरी प्रमुख र प्रहरी महानिरीक्षकसँग समन्वयमा सुन तस्करी नियन्त्रण भएको अभिलेखबाट समेत देख्न सकिन्छ ।

बदनियत राखी आर्थिक लेनदेनको लागि कुनै पनि कुराकानी भएको छैन र कुराकानीमा भनिएजस्तै कुनै पनि प्रकृतिको सहयोग प्रतिवादीलाई गरिएको छैन ।

म लोभिएको, झुक्किएको र कुनै रुपमा पनि संलग्न छैन । अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरुको समूहलाई उपयुक्त समयमा सकभर एकै पटक कानुनको दायरामा ल्याउन तत्कालीन अपराध महाशाखा प्रमुख र प्रहरी महानिरीक्षकसँग छलफल तथा निर्देशन भएको थियो ।

हज समितिका अध्यक्षको बयान : सन्देश शर्मालाई गाडी दिएको हुँ
नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर मियाँले आफूले प्रयोग गरेको सरकारी गाडी सन्देश शर्मालाई प्रयोग गर्न दिएको सकारेका छन् ।

समशेर मियाँ

पक्राउ परेपछि सरकारी वकिलको रोहवरमा प्रहरीलाई बयान दिने क्रममा शर्माले पारिवारिक समस्या बताएपछि आफूले गाडी दिएको र त्यसबाहेक अरु थाहा नभएको दावी गरेका छन् ।

‘सन्देश शर्माले पारिवारिक समस्या छ भनेर गाडी माग गरेकोले केही दिनको लागि चालकलाई गाडी छाड्न भनेको हुँ’ मियाँको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘सन्देश शर्मालाई पटक–पटक ताकेता गर्दा ५/६ दिनपछि मात्र सन्देश शर्माले गाडी ल्याई रेष्टुरेन्टमा छाडेका हुन् ।’

आफू रामबहादुर थापा बादलको कार्यकालमा हज समितिको अध्यक्षमा नियुक्त भएको, बादलका छोरा प्रतीक थापासँग सन्देश शर्मा प्रायजसो सँगसँगै रहने भएकाले चिनाजान भएको उनले बयानमा स्वीकारेको प्रहरी स्रोत बताउँछ ।

उनले बयानमा भनेका छन्, ‘सन्देश शर्मा विभिन्न व्यक्तिहरुको सरुवा बढुवा गराउने काममा समेत सक्रिय रहेको देखेको हुँ ।’ उनले त्यस क्रममा टोपबहादुर रायमाझीका छोरा सन्दिपसँग समेत आफ्नो चिनजान भएको स्वीकारेका छन् ।

सानु भण्डारी, केशवप्रसाद दुलाल र सन्देश शर्माबीच निकै राम्रो सम्बन्ध रहेको बताउँदै उनले उनीहरु गृह मन्त्रालयका सल्लाहकार इन्द्रजित राईलाई भेट्न बारम्बार जाने गरेको स्वीकारेका छन् । उनले बयानमा भनेका छन्, ‘सानु भण्डारी र केशवप्रसाद दुलाललाई गृह मन्त्रालयमा आउन कुनै रोक थिएन ।’

उनले आजभन्दा दुई वर्ष पहिले बखुण्डोलस्थित टंककुमार गुरुङको रिसोर्टमा नेपालीलाई तेस्रो मुलुकमा पठाउने काम भइरहेकोबारे कुराकानी सुनेको स्वीकारेका छन् । अनि उनीहरु पक्राउ परेपछि आफू समेत पक्राउ पर्ने डरले आफूले बोकेको सिमकार्ड फालेको पनि मियाँले स्वीकारेका छन् ।

उनले बयानमा भनेका छन्, ‘म समेतलाई प्रहरीले खोजतलास गर्दैछ भन्ने थाहा पाई म डरत्रासमा भागी उक्त मोबाइल फ्याँकेको हो ।’

केशव दुलालको बयान : ओलीका प्रमुख स्वकीय सचिवलाई बालुवाटारमै १ करोड दिएँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

केशवप्रसाद दुलाल
केशवप्रसाद दुलाल

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन् ।

प्रहरीले सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा दुलालले भनेका छन्, ‘…तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।’

दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलकाे मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

दुलालले आफ्नो बयानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजय क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई मन्त्री क्वाटरमा १/१ करोड रुपैयाँ दिएको पनि बयान दिएका छन् ।

प्रहरीले लिएको बयानका क्रममा सुरुमा केशवप्रसाद दुलालले इन्कारी बयान दिएका छन् । तर थप बयानका क्रममा उनले रकम दिएको बताएका छन् ।

पढ्नुहोस् दुलालको थप बयानको एक अंश :

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वाटर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा रु १ करोड बुझी लिएको ।

त्यसैगरी तत्कालिन गृहसचिव प्रेमकुमार राईले डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल असार महिनामा ३ करोड नगदै बुझी लिएको, तत्कालिन प्रधानमन्त्री केपी वलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।

तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ उर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी उर्जामन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझी लिएका हुन् ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा. अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल र उर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराइसकेपछि तपाईंहरुको काम हुने भयो भनी डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही १ करोड बुझी लिएका हुन् ।

काम नभएपछि पटकपटक रकम फिर्ता माग्दा धाकधम्की दिई हामी पावरमा छौं, तिमीहरुको केही लाग्दैन हामीलाई फोन गर्ने भेट्ने काम नगर्नू भनी प्रतीक थापामार्फत खबर पठाउने गरेको र तपाईंहरुले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौं, ६० प्रतिशत लैजानु भनी प्रतीक थापामार्फत नाम्लो रेष्टुरेन्ट पुल्चोकमा तत्कालीन गृहमन्त्रीबाट हटेको ५/६ दिनपछि मसँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरुसँग ऋण खोजेर दिएको रकम हो, सम्पूर्ण रकम चाहियो भन्दा माथि उल्लिखित मानिसहरुसँग कुरा गरी खबर गर्छु भनी हालसम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल झुटा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पूर्ण रकम फिर्ता गरी झुटा मुद्दाबाट सफाइ पाउँ भन्ने प्रतिवादी केशवप्रसाद दुलालले गरेको थप बयान कागज ।

‘सचिव प्रेमकुमार राईको गाडीमा एक करोड राखिदिएपछि उहाँले काम हुन्छ भन्नुभयो’
नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुछिएका दुई आरोपितहरुले तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई एक करोड रुपैयाँ दिएको बयान गरेका छन् ।

उनीहरुले तत्कालीन गृहसचिव राईको गाडीमा एक करोड रुपैयाँ राखिदिएको बताएका हुन्। बयानमा उल्लेख गरिए अनुसार त्यो घटना १० भदौ २०७६ को हो । राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुन् ।

नक्कली शरणार्थी प्रकरणका प्रमुख योजनाकार भनी मुछिएका सानु भण्डारीले सरकारी वकिलको रोहबरमा प्रहरीसँगको बयानमा अख्तियारका बहालवाला प्रमुख आयुक्तको नाम पोलेका हुन् ।

भण्डारीको बयान अनुसार उनले गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा. इन्द्रजित राईलाई एक करोड रुपैयाँ दिएपछि उनले त्यो रकम सचिवको गाडीमा राख्न निर्देशन दिएका थिए। उनले भनेका छन्, ‘मलाई डा. इन्द्रजित राईले यो गाडी सचिवज्यू (तत्कालीन सचिव प्रेमकुमार राई)को हो, उक्त रकम गाडीमा राखिदिनु भनी भनेको…..।’

आफूले एक करोड रुपैयाँ नगद सचिवको गाडीमा राखेको र त्यसपछि उनलाई भेट्न कार्यकक्षमा गएको बयान दिएका छन् । बयानमा उनले गरेको दावी अनुसार त्यसपछि सचिव राईले ‘अब तपाईंहरुको काम हुन्छ तपाई जानु’ भनी बचन दिएका थिए । उनले बयानमा भनेका छन्, ‘म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ।’

सानु भण्डारी मात्रै होइन, केशव दुलालको बयानमा समेत तत्कालीन गृहसचिव राईको नाम उल्लेख छ। उनले सानु भण्डारीलाई उद्धृत गर्दै इन्द्रजित राईले एक करोड रुपैयाँ सानु भण्डारीमार्फत गृहसचिव राईलाई बुझाएको बताएका छन्। त्यसपछि आफूहरु दुवैजना अख्तियार प्रमुख राईको कार्यकक्षमा गएको उनको भनाइ छ। उनले बयानमा भनेका छन्, ‘निजकै कार्यकक्षमा गई कुरा हुँदा सानु भण्डारीसँग उक्त रकम बुझिसकेको भनी मलाई समेत जानकारी गराएका हुन्।’

तत्कालीन गृहमन्त्री रामबहादुर थापाको कार्यकालमा नक्कली शरणार्थी प्रकरणबारे अध्ययन गर्न गृह प्रशासनका लामो अनुभव भएका अवकाशप्राप्त सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो। कार्यदलमा शिक्षण पेशाबाट अवकाश पाएका गणेश केसी र गृह मन्त्रालयकै शाखा अधिकृत सदस्य सचिव थिए। यो निर्णय हुँदा प्रेमकुमार राई गृहसचिव थिए।

कार्यदलले राई सचिव भएकै पालामा प्रतिवेदन बुझाएको थियो। उनले प्रतिवेदन कार्यान्वयन गर्न प्रक्रिया अघि बढाएका थिए। र उनकै पालामा उक्त प्रतिवेदन गृह मन्त्रालयको स्थानीय प्रशासन शाखाको अभिलेखमा रहेको थियो ।

प्रहरी प्रतिवेदन पाएपछि अनलाइनखबरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र उनको सचिवालयमा सम्पर्कको प्रयास गरेको थियो, तर सफल हुन सकेन । केही दिनअघि अनलाइनखबरसँगको प्रतिक्रियामा उनले आफूलाई विवादमा मुछ्ने प्रयास भएको तर कुनै पनि गैरकानुनी क्रियाकलापमा आफू संलग्न नभएको प्रतिक्रिया दिएका थिए ।

‘म यस्ता कुनै पनि क्रियाकलापमा संलग्न थिइनँ, हुने कुरा पनि भएन । कार्यदल गठनमा म सचिव भएका कारणले मात्रै मुछ्न खोज्नु गलत हो’ उनले भनेका थिए, ‘म यस्ता घटना र लेनदेनमा संलग्न भएको प्रमाणित गर्न चुनौती दिन्छु, एउटा पनि प्रमाण भेटिए जस्तोसुकै कारबाही भोग्न तयार छ ।’

गृहसचिवबाट अवकाश पाएको केही समयपछि राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भए । उनको दुई वर्षे कार्यकालमा कम्तीमा पनि दुई पटक नक्कली शरणार्थी प्रकरणबारे अख्तियारमा उजुरी परेको थियो ।

शरणार्थी प्रकरणमा डेढ वर्षअघि नै अख्तियारको निर्णय : भ्रष्टाचार देखिएन, तामेलीमा राख्नू
पहिलो उजुरीमा अख्तियारले कुनै कारबाही अघि बढाएन । दोस्रो उजुरीमा भने अख्तियार प्रमुखकै नाम किटेर ‘तपाईंका नाममा पैसा उठाएकाले रकम फिर्ता गराइदिनु’ भनी उजुरी परेको थियो । जाहेरीवालालाई बोलाएर कुराकानी गरेका राईले पछि तत्कालीन सल्लाहकार डा. इन्द्रजित राईलाई सम्पर्क गरी रकम फिर्ता गरिदिन निर्देशन दिएका थिए ।

अख्तियार प्रमुख राईले ठगी प्रकृतिको उक्त उजुरी प्रहरीमा पठाइदिएको, आफैले अपराध महाशाखा प्रमुखलाई फोन गरेर पीडितहरु जाहेरी दिन आउँछन् भनी समन्वय गरिदिएको बताएका थिए । राईको दावीमा, उनको निर्देशन अनुसार त्यतिबेला जाहेरी पाएरै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो, जो पछि गृहमन्त्री बालकृष्ण खाँणको दबाबमा छुटे ।

सानु भण्डारीको बयान :

मलाई डा. इन्द्रजित राईले यो गाडी सचिवज्यू (तत्कालीन सचिव प्रेमकुमार राई)को हो, उक्त रकम गाडीमा राखीदिनु’ भनी भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम एक करोड गाडीमा राख्न लगाई मलाई सचिव प्रेमकुमार राईको कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र अब तपाईंहरुको काम हुन्छ तपाई जानु भनी प्रेमकुमार राईले मलाई भनेकोले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ ।

समाचार स्रोत अनलाइनखबर

प्रतिक्रिया