वीरगन्जमा एक सामुदायिक विद्यालयमा गरिएको छड्के अनुगमनका क्रममा २४ जना शिक्षक कारबाहीमा परेका
नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय सहितका तीन वटा विद्यालयमा आइतबार मेयर राजेशमान सिंहले छड्के अनुगमन गर्दा उक्त विद्यालयका २४ जना शिक्षक कारबाहीमा परेका हुन्।
अनुगमनका क्रममा वीरगन्जको श्रीपुरस्थित उक्त विद्यालयका प्रधानाध्यापकसहित २४ जना शिक्षक विद्यालय समयमा अनुपस्थित देखिएकाले उनीहरूलाई कारबाही स्वरूप महानरपालिकाको शिक्षा महाशाखाले स्पष्टीकरण सोधेको छ।
अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षक अनुपस्थित भेटिएकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए।
विद्यालयमा केही शिक्षक भौतिक रुपमा भेटिएको भएपनि उनीहरूले हाजिरी गरेको नपाइएकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको उनले प्रष्ट पारे।
अनुगमन टोलीमा मेयर सिंहसँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, शिक्षा महाशाखा प्रमुख कर्ण पनि सहभागी थिए।