तेल लगाएर रोग निको पार्छु भन्ने ‘सिमान्त गुरु’ दाङमा कार्यक्रमै नगरिकन टाप!

तेल लगाएर रोग निको पार्छु भन्ने ‘सिमान्त गुरु’ दाङमा कार्यक्रमै नगरिकन टाप!


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ जेष्ठ २०८०
  • 3.2K
    Shares

तेल लगाएर रोग निको पार्छु भन्ने 'सिमान्त गुरु' दाङमा कार्यक्रमै नगरिकन टाप!

शरिरमा तेल लगाएर, आँखामा हेरेर र छोएर विभिन्न रोग निको पार्छु भन्दै हिड्ने ‘सिमान्त गुरू’ भनिने भरत केसी दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फर्किएका छन्।

स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने बताएका कारण उनी सयौं मानिस जम्मा भइसकेपछि पनि कार्यक्रम नगरी फर्केका हुन।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले उपचारको बहानामा तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर परिसरमा सयौंलाई भेला गराइएको भए पनि अन्तिममा केसी कार्यक्रम नै नगरी बाँकेको नेपालगञ्जतर्फ लागेको जानकारी दिए।

‘हामीलाई त्यस्तो कार्यक्रममा सुरक्षा नदिनु र नजानु भन्ने प्रजिअको आदेश थियो,’ मल्लले भने, ‘त्यो कुरा हामीले शनिबार राति नै केसीलाई जिल्लामा बोलाउनेहरूलाई भनिसकेका थियौं।’

ज्योतिष केसीलाई तुलसीपुर बोलाउने मध्यका एक जना उद्योगी डिल्लीबहादुर बस्नेतले पनि प्रहरीले सुरक्षा नदिने बताएपछि कार्यक्रम नै नगरी फिर्ता भएको जानकारी दिए।

केसीले सामाजिक सञ्जाल टिकटकमा भिडिओ पोष्ट गर्दै आफूसँग अलौकिक क्षमता भएको दाबी गर्ने गरेका छन्। उनको त्यही दाबीलाई पत्याएर विभिन्न ठाउँमा मानिसहरू उनलाई आफ्नो बिराम देखाउन जाने गरेका छन्।

दाङमा पनि उनलाई भेट्न भन्दै आसपासका जिल्लाहरू सल्यान र रोल्पादेखि मानिसहरू आएका थिए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिमान्त गुरू भनिने भरत केसीले संस्था नै दर्ता गरेर यो काम गरिरहेको बताए।

‘हामीले हेर्दा उनले बालाजुमा अलौकिक मनोवैज्ञानिक ज्योतिष प्रालि भन्ने एउटा संस्था नै दर्ता गराएका रहेछन्। कम्पनी रजिष्टारको कार्यालयमा पनि संस्था दर्ता गरेर काम गरिरहेको मान्छेलाई उजुरीबिना समाउने कुरा भएन,’ कडायतले भने, ‘कसैले ठगेको भनेर उजुरी दिए उनी अनुसन्धानको दायरामा आउँछन्।’

प्रतिक्रिया