नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएका दुई पूर्वमन्त्रीसहित १६ आरोपितविरुद्ध चार वटा अभियोगमा मुद्दा दायर हुने भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले आरोपितलाई बयान लिएर चारवटा अभियोगमा मुद्दा दायर गर्नेगरी प्रतिवेदन तयार पारिरहेको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ।
उनीहरूविरुद्ध ठगी, राज्यविरुद्धको अपराध, सरकारी दस्तखत कीर्ते, संगठित अपराधको अभियोगमा मुद्दा चल्न सक्नेछ ।
सो प्रकरणमा हालसम्मको अबस्था हेर्दा दुईभन्दा बढी अभियोगमा मुद्दा चलाउन सक्ने आधार देखिएको सरकारी वकिल कार्यालयले जनाएको छ । अनुसन्धानको प्रक्रिया पूरा भएपछि कतिवटा अभियोगमा मुद्दा चल्ने भन्न सकिने सरकारी वकिल कार्यालयले जनाएको छ ।
आरोपितविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध, मानववेचविखन, कीर्ते, सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट, सार्वजनिक पदको दुरुपयोग भ्रष्टाचारलगायत आठवटा कसुर आकर्षित हुने देखिएको छ । तर, अहिले तत्काल जिल्ला प्रहरी परिसरले चारवटा कसुरमा मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।
त्यस्तै, प्रहरी परिसरले महान्यायाधिबक्ता कार्यालयलाई आरोपितलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न पत्राचार गर्न सकिनेबारे जानकारी गराएको छ । यद्यपि, सो विषयमा महान्यायाधिवक्ता कार्यालयले दुईवटा अभियोगबारे निर्णय गर्न भने बाँकी छ ।
एक सरकारी वकिलका अनुसार ठगी, संगठित अपराधलगायत चारवटा अभियोगमा मुद्दा भने दर्ता हुनेछ । अपराधबाट कमाएको पैसाको विषयमा सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा पठाउन सक्ने आधार रहेको ती सरकारी वकिलले बताए ।
आरोपितलाई राष्ट्रहित प्रतिकूल काम गरेको (मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ५१) अभियोगमा मुद्दा दायर गर्न प्रशस्त आधार रहेको अधिवक्ता स्वागत नेपालले बताए । उक्त दफामा ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने’ काम गर्न नहुने भन्ने उल्लेख छ । राष्ट्रहित प्रतिकूल काम गरेको अभियोग पुष्टि भए ५ वर्षसम्म कैद, ५० हजार रुपैयाँ जरिमाना वा त्यो अपराध गर्दा रकमको लेनदेन भए त्यो समेत जफत हुने व्यवस्था छ ।
पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिए ।
यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा सागर राई र सन्देश शर्मा पक्राउ परेसँगै फेलापरेका प्रमाणका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवसहित ठूलो गिरोहको मिलेमतो देखिएको थियो।
वैशाख १९ गते इन्द्रजित राई र २० गते पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयानसँगै रकम लेनदेनको प्रमाणका आधारमा वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव (निलम्बित) टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते र संविधान सभा सदस्य आङ्टावा शेर्पालाई जेठ १ गते पक्राउ गरिएको थियो।
त्यस्तै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई जेठ ४ गते पक्राउ गरिएको थियो।
पक्राउ परेका १६ जनालाई अनुसन्धान प्रतिवेदनसहित आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ।
परिसर स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा निरज राई प्रत्यक्ष रूपमा रकम लेनदेनमा संलग्न रहेको र अन्य १४ जनाको भूमिका बिचौलिया र सहयोगीको रहेको पाइएको छ।
छुट भएका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनस्र्थापना गराउने योजना अनुरूप २०७६ वैशाखमा कार्यदल गठन भएको थियो तर सो कार्यदलको प्रतिवेदनमा नै अनुसूची थपेर नेपाली नागरिकको समेत नाम थपी अमेरिका लैजाने गिरोहको योजनामा यो घटना भएको हो।