झापा ५ जेठ २०८०। अपहरणमा परेको हल्ला चलाएका एक व्यक्ति झापास्थित एक पुल मुनि लुकेर बसेको अवस्थामा पक्राउ परेका छन। आफू अपहरणमा परेको हल्ला चलाएर बेपत्ता झापाको बुद्धशान्ति ४ का पूर्ण भन्ने शेरबहादुर सुहाङ एक जना सहयोगीसहित ईलाम रोङ गाउँपालिका वडा नं.४ स्थित बिरिङखोलाको पुलमुनि लुकेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। सुहाङसहित प्रहरीले उनका सहयोगी झापाकै बुद्धशान्ति–४ का सुहाङका साथी फुलबहादुर गौतम दर्जी समेतलाई पक्राउ गरेको छ।
प्राप्त जानकारी अनुसार, गत बैशाख ३१ गते साँझ ५.४० बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नं.३ बालुवाटार चौकमा नेपाल तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङको नेतृत्वमा करिव १०० जनाको संख्यामा भेला भई भ्रष्टाचारविरुद्धको बिरोध कार्यक्रम भएको थियो । उक्त कार्यक्रम सम्पन्न भएपश्चात् सुहाङले आफ्नो फेसबुकमा त्यस ‘भ्रष्टाचारविरुद्धको बिरोध कार्यक्रमका आयोजकहरुलाई आघात पुग्ने गरी फेसबुकमा स्टाटस लेखी सेयर गर्दा नेपाल तरुण दल बुद्धशान्तिका केही मानिसहरुसंग विवाद भएपछि आफूलाई बेपत्ता बनाएको’ लेखेर बेपत्ता भएका थिए।
उनी बेपत्तासंगे उनका आफन्तले उनको खोजतलासका लागि ईलाका प्रहरी कार्यालय धुलाबारीमा जेठ १ गते हुलियासहित निवेदन दिएका थिए । त्यसपश्चात् जेठ २ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लेटरप्याडमा लिम्बुवान भोलेन्टियर्स (एल.भी.) ईन्चार्ज सुहाङलाई सकुशल अपहरण मुक्त गरी दोषीलाई कडा कार्वाही गरियोस् भन्ने ब्यहोराको प्रेस बिज्ञप्ति समेत जारी गरिएको थियो ।
त्यसरी प्रहरी प्रशासनलाई दवाव दिइएपछि प्रहरीले घटना सम्बन्धमा तालिमप्राप्त कुकुर समेतको प्रयोग गरी बैज्ञानिक अनुसन्धान शुरु गरेको थियो । त्यसक्रममा सोही ठाउँ बस्ने सुहाङकै साथी दर्जीसंगको मिलेमत्तोमा बुद्धशान्ति गाउँपालिका वडा नं.७ पैनिबगरमा आफूले लगाएको टि–सर्ट च्यातेर, घडी समेत चुडाई फाली भ्रम सिर्जना गरी सम्पर्कबिहीन भएको अनुसन्धानबाट खुल्न आएको थियो ।
बुधवार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले स्थानीयसमेतको सहयोगमा ईलाम रोङ गाउँपालिका वडा नं.४ स्थित बिरिङखोलाको पुलमुनिबाट सुहाङलाई फेला पारी नियन्त्रणमा लिएको हो । सुहाङ र दर्जीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डीएसपी खगेन्द्र रिजालले बताए ।