एमसिसी र एसपीपीकै कारण नेपालमा अमेरिकी सेनाको उपस्थिति बढ्यो : झलनाथ

एमसिसी र एसपीपीकै कारण नेपालमा अमेरिकी सेनाको उपस्थिति बढ्यो : झलनाथ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1.6K
    Shares

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन्।

बुधवार ३१ औं मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गरे।

उनले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे। उनले नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेको बताए। उनले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरू नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने बताए। उनले नेपालमा अमेरिकीहरूको उपस्थिति बाक्लिनुको कारणबारे नेपालीहरू सचेत रहनुपर्ने बताए।

सम्मानित नेता खनालले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको बताए। उनले यो प्रकरण निष्पक्ष रुपमा छानबिन भइ सतहमा पुग्नुपर्ने जिकिर गरे। यस प्रकरणमा मुछिनेहरूको संख्या बढ्दै गएको र ठूला नेताहरू पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचारको काण्डलाई निष्पक्ष रूपमा टुंगोमा पुर्‍याउन आग्रह गरे। उनले निष्पक्ष छानबिन नभए आफ्नो पार्टीले सहन नसक्ने चेतावनी दिए।

सम्मानित नेता खनालले ५ वर्ष भन्दा पहिलाका भ्रष्टाचारको अनुसन्धान नहुने गरी विधेयक संशोधन गर्न लागेको भन्दै आफूलाई त्यो मान्य नहुने बताए।

प्रतिक्रिया