भीआईपी संलग्न गिरोहद्वारा कार्यदलको प्रतिबेदनको निष्कर्ष खण्ड नै हेरफेर

भीआईपी संलग्न गिरोहद्वारा कार्यदलको प्रतिबेदनको निष्कर्ष खण्ड नै हेरफेर


  • जन संचार
  • सोमबार, २५ बैशाख २०८०
  • 4.8K
    Shares

भीआईपी संलग्न गिरोहले नै भुटानी समस्याको स्थायी तथा दीर्घकालीन समाधानका लागि भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले ०७६ सालमा गठन गरेको कार्यदलले तयार गरेको प्रतिबेदनको केही अंशलाई नै किर्ते गरी परीवर्तन गरेको पाइएको छ। उक्त गिरोहले प्रतिवेदनको निष्कर्ष खण्ड नै हेरफेर गर्नुका साथै दुई वटा अनुसूची थपिएको देखिएको छ ।

०७६ जेठमा गृहमन्त्रीस्तरबाट निर्णय गरी पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरिएको थियो । कार्यदलको सदस्यमा गणेबहादुर केसी तथा सदस्यसचिवमा गृह मन्त्रालयकै तत्कालीन शाखा अधिकृत दीपक न्यौपाने सदस्य थिए । कार्यदलले साउन १ गतेदेखि काम शुरु गरी कात्तिक १ गते प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा चार सय २९ जना गणनाका क्रममा दर्तामा छुटेका शरणार्थी रहेको भन्दै सूची राखिएको छ । जसमध्ये केहीसँग बिचौलिया समूहले पैसा उठाएको पाइएपछि कसरी ती नाम प्रतिवेदनको सूचीमा राखियो भनेर कार्यदलका पदाधिकारीलाई प्रहरीले बोलाउने तयारी गरेको हो । ‘एक त कुन प्रतिवेदन सक्कली हो भन्नेमै हामी अन्योलमा छौँ,’ जिल्ला प्रहरी परिसर काठमाडौैंका एक अधिकृत भन्छन्, ‘अर्काेतर्फ चार सय २९ मध्ये पनि केहीसँग पैसा उठाएको देखिएपछि सदस्यहरूलाई नै बोलाएर बुझ्न लागिएको हो ।’

गृह मन्त्रालयले कार्यदलको प्रतिवेदन प्रहरीलाई बुझाइसकेको छ । त्यो पनि किर्ते भएको हुन सक्ने भएकाले प्रहरीले कार्यदलका सदस्यहरूलाई नै झिकाएर बुझ्न लागेको हो ।

कार्यदलका संयोजक रहेका पूर्वसहसचिव पन्थी भने संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर)को प्रतिवेदनका आधारमा चार सय २९ जनाको नाम अनुसूचीमा राखिएको बताउँछन् । ‘त्यो तथ्यांक हामीले सेकेन्डेरी स्रोतबाट लिएका हौँ,’ उनले भने, ‘युएनएचसिआर र सिडिओको अध्यक्षतामा हुने एक समितिले छानबिन गरेर सो सूची बनाएको रहेछ, त्यसैलाई हामीले राखेका मात्र हौैँ, हामी आफैँले सो सूची तयार पारेका होइनौँ ।’

सो कार्यदलले छुट भएकासँग दरखास्त मागेको थियो । पन्थीका अनुसार त्यसमा पाँच सय ८१ परिवारले आवेदन दिएका थिए । तर, उनीहरूले प्रमाण पेस गर्न नसकेकाले छुट भएको भन्न नसकिने प्रतिवेदनमा लेखेको पन्थीको भनाइ छ । कार्यदलका विज्ञ सदस्यका रूपमा तत्कालीन माओवादी कार्यकर्ता तथा हाल कांग्रेसबाट ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष रहेका गणेशबहादुर केसीलाई नियुक्त गरिएको थियो । बिचौलिया समूहले नै उनलाई नियुक्त गरेको थियो । हाल थुनामा रहेका सानु भण्डारीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईमार्फत सदस्य बनाएका थिए । भण्डारीले नै आफूलाई कार्यदलमा राखेको केसीले स्वीकार गरेका छन् । तर, गैरशरणार्थीको नाम आफूहरूले सिफारिस नगरेकाले कुनै बदनियत नभएको केसीको दाबी छ । सदस्यसचिव रहेका न्यौपाने भने हाल बागमती प्रदेशमा उपसचिवका रूपमा कार्यरत छन् ।

गृह मन्त्रालयले आफैँ गर्न सक्ने काममा बाहिरका व्यक्ति राखेर कार्यदल बनाउनु र त्यसमा बिचौलिया समूहका मान्छे राख्नुले त्यहीबाट ठगी योजना बनेको प्रहरी आशंका छ । सोही कार्यदलको प्रतिवेदन देखाएर त्यसमा नाम थप्न बिचौलिया समूहले करिब नौ सयजनासँग पैसा उठाएका थिए । भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्वास भएकाले शरणार्थी भएपछि अमेरिका लैजाने भन्दै पैसा उठाइएको थियो । एउटै परिवारसँग एक करोड ६० लाख रुपैयाँसम्म उठाइएको उजुरी प्रहरीमा छ । हालसमम २३ करोड २५ लाख ठगीको उजुरी परेको जिल्ला परिसर काठमाडौंका एसपी सीताराम रिजाल बताउँछन् ।

सो घटनामा प्रहरीले हालसम्म आठजनालाई पक्राउ गरिसकेको छ । बिचौलिया समूहका केशव दुलाल, सानु भण्डारी सन्देश शर्मा, टंक गुरुङ र सागर राई प्रहरी थुनामा छन् । सो समूहलाई सघाउने तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परिसकेका छन् । बहालवाला सांसद रहेका पूर्वउपप्रधानमन्त्री रायमाझी भने फरार छन् । यसमा अन्य केही उच्चपदस्थ व्यक्तिको समेत संलग्नता खुल्ने भएपछि अनुसन्धान प्रभावित गर्न प्रहरीमाथि चौतर्फी दबाब परेको छ ।

प्रहरीले पक्राउ परेका सबैको बयान लिइसकेको छ । बिचौलियाले पैसा उठाएको स्वीकार गरे पनि सचिव पाण्डे, तत्कालीन सल्लाहकार राई र टोपबहादुरका छोरा सन्दीपले भने अस्वीकार गरेका छन् । प्रहरीले संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । जसमा ६० दिनसम्म अभियुक्तलाई प्रहरीले थुनामा राख्न पाउँछ ।

उच्चपदस्थमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले गृह मन्त्रालयद्वारा विभिन्न समयमा गरेका निर्णय मगाएको छ । प्रहरी स्रोत भन्छ, ‘ती निर्णय आएपछि थप उच्चपदस्थहरूको संलग्नता प्रस्ट हुन्छ ।’

प्रतिवेदनमा के–के भयो थपघट ?

पन्थी कार्यदलले तयार पारेको प्रतिवेदन र भीआईपी गिरोहले थपघट गरेको पाइएको छ । जसमा ठगी गर्ने गिरोहले कार्यदलको प्रतिवेदनबाट आठ सय ७५ जनाको आवेदन अस्वीकृत भएको व्याख्या नै हटाएको छ ।

परिच्छेद २ को उपलब्ध तथ्य र विश्लेषण खण्डमा रहेको दर्ता छुट भएका शरणार्थीको लगत तयार गर्ने विषय खण्डको (आ)मा विभिन्न कारणले दर्ता हुन छुट भएका शरणार्थीहरु शीर्षक छ ।

यसको पहिलो वाक्यमा झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेस्थित शिविरमा स्थलगत भ्रमण, सम्बद्ध पदाधिकारी, व्यक्ति, सरोकारवाला शरणार्थीहरुसँग छलफल र अन्तरक्रिया गरेर अध्ययन सामग्री संकलन गर्दै कार्यदेशबारे स्पष्ट पारिएको भनिएको छ । त्यसपछि माग दाबी गर्ने शरणार्थीहरुलाई दरखास्त दिन लगाइएको भनिएको छ । दुवै प्रतिवेदनमा यो भाषा एउटै छ ।

त्यसपछिका आठ ७५ जनाको आवेदन अस्वीकृत गर्दै कार्यदलले गरेको व्याख्या भने गिरोहले हटाएको छ ।

पूर्वसहसचिव पन्थीको कार्यदलको प्रतिवेदनले ‘अनुसूची ७ मा उल्लेखित छुट दर्ता गर्नका लागि दिएका आवेदनहरुलाई अन्तिम मान्नुपर्ने निष्कर्ष’ दिएको थियो । तर भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै लाखौं असूली गरेको गिरोहले कार्यदलको प्रतिवेदनको निष्कर्ष खण्डको ३.७ (i) मा उल्लेखित यसबारेको वाक्यांशलाई नै हटाएर ‘यस प्रतिवेदनको अनुसूचीमा उल्लेखित छुट दर्ता गर्नका लागि दिएको आवेदनहरुलाई अन्तिम आवेदन मानी छुट दर्ताको विषयलाई टुंगो लगाएर यो अध्यायलाई सदाका लागि बन्द गर्नुपर्छ’ भन्ने बनाएको छ ।

कार्यदलको प्रतिवेदनमा नसमेटिएपछि आवेदकहरुको दुई वटा अनुसूची थपेर गिरोहले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै झापा, मोरङ, सुनसरी, दाङ, प्यूठान लगायतका जिल्लाका नागरिकबाट लाखौं असूली थियो । ठगी गर्ने गिरोहले आफू अनुकल थपघट गरेर पीडितसम्म पुर्‍याएको प्रतिवेदनका अधिकांश भागबाट अनुसूची ७ सँग सम्बन्धित विषयहरु हटाएको देखिन्छ ।किनकी कार्यदलले अनुसूची ७ का आवेदनहरुलाई मात्र अन्तिम मान्नुपर्ने निष्कर्ष राखेको थियो ।

कार्यदलले अनुसूची ७ मा दर्ता छुट भएका शरणार्थीहरुको लगत तयार गर्ने क्रममा छुट भएको भन्दै संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) र जिल्ला प्रशासन कार्यालयमा रहेको शरणार्थी समन्वय इकाइ (आरसीयू) ले पहिचान गरेको चारसय २९ जनाको नाम राखेको थियो । यसमा नामसँगै उनीहरु भुटानी शरणार्थी भएकाबारे उपलब्ध प्रमाण र पहिला छुट्नुको कारण पनि कैफियत खण्डमा राखिएको थियो ।

ठगी गर्ने गिरोहले अन्तिममा रहेको निष्कर्ष खण्डमा उल्लेखित अनुसूची ७ को विषय पनि फेरबदल गरेको छ ।

निष्कर्ष खण्डको अन्तिम अनुच्छेदमा कार्यदलले लेखेको थियो, ‘छुट दर्ता भएको भन्दै बारम्बार शरणार्थी दर्ता गर्नका लागि निवेदन दिने प्रवृत्तिले यो समस्यालाई बल्झाइरहने हुँदा अनुसूची ७ बमोजिमका यूएनएचसीआर र आरसीयूबाट भेरिफिकेशन भएका ४२९ जना र परिचय पत्रबाहक शरणार्थीका एकाघरका परिचपत्रविहीन सदस्यको विषयमा समेत छुट पर्ने विषयमा एकैपटक निर्णय गरी अब उप्रान्त दर्ता प्रक्रिया मात्र नभइ शिविरको धारणा र अस्तित्वलाई नै हटाउन आवश्यक देखिन्छ ।’

ठगी गर्ने गिरोहले प्रतिवेदन हात पारेर यो वाक्यांशमा अनुसूची ७ को विषय हटाएको छ र सिधैँ ‘छुट दर्ता भएको भन्दै बारम्बार शरणार्थी दर्ता गर्नका लागि निवेदन दिने प्रवृत्तिले यो समस्यालाई बल्झाइरहने हुँदा अब उप्रान्त दर्ता प्रक्रिया मात्र नभइ शिविरको धारणा र अस्तित्वलाई नै हटाउन आवश्यक देखिन्छ’ भनेको छ ।

प्रतिवेदनको २.६ (क) मा ‘दर्ता हुन छुट भएका शरणार्थीको लगत तयार गर्नुपर्ने विषय’ शीर्षकको अनुच्छेदमा अधिकांश लाइनमा कार्यदलले अन्तिममा कुराकानीबाट खुल्न आएको, छलफलबाट खुलेको जस्ता शब्दहरु प्रयोग गरेको छ ।

तर ठगी गर्ने गिरोहले त्यसलाई परिवर्तन गरेर कार्यदलले यकिनका साथ किटान गरेझैं बनाएका छन् ।

जस्तै, कार्यदलको मुल प्रतिवेदनको यो खण्डको पहिलो अनुच्छेदको पहिलो वाक्यमा ‘दर्ता हुन छुट भएका शारणार्थीहरुको सम्बन्धमा अध्ययन गर्दा फरकफरक प्रकृतिका नाम दर्ता हुन छुट भएको भन्ने भनाइ रहेको पाइयो’ लेखिएको छ ।

तर ठगी गर्ने गिरोहले प्रतिवेदनमा आफैं कैंची चलाएर सिधैँ ‘दर्ता छुट भएका शरणार्थीहरु देखिन आयो’ बनाएका छन् ।

यस्तै कार्यदलको मुल प्रतिवेदनमा ‘छुट भएका शरणार्थीहरुमध्ये केही संख्या प्रथम गणनाको अवधि अर्थात् सन् २००७ भन्दा अघि नै शिविर प्रवेश गरेपनि शरणार्थी गणनामा छुट भएका, केही संख्या शरणार्थी गणनामा समावेश भएपनि परिचय–पत्रको लागि फोटो खिच्ने बेलामा अनुपस्थित भएका, केही संख्या रोजगारीको लागि शिविरबाट बाहिर भएका कारणले छुट भएको भन्ने भनाइ छ’ भनिएको छ ।

तर, गिरोहले ‘…छुट भएको भन्ने रहेछन्’ भन्ने बनाएर कार्यदलले किटानका साथ भने जस्तो बनाउन खोजेका छन् ।

अन्तिम लाइनमा ‘केही भुटानबाट लेखेटिँदा सबै कागज प्रमाण लुटिएका कारण प्रमाणविहीन बनेकाले दर्ता प्रक्रियामा समावेश हुन नसकेको भन्ने कुरा छलफलका क्रममा शिविर व्यवस्थापनका पदाधिकारीहरुले बताएका थिए’ भन्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

तर, ठगी गर्ने गिरोहले पीडितहरुसम्म पुर्‍याएको कीर्ते प्रतिवेदनमा ‘….दर्ता प्रक्रियामा समावेश हुन नसकेको भन्नेपनि रहेछन्’ भन्ने राखेका छन् ।

ठगी प्रकरणमा अनुसन्धान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोजकुमार केसी कार्यदलको प्रतिवेदन र ठगी गर्ने समूहले पीडितसम्म पुर्‍याएको प्रतिवेदन भिडाएर जाँच्ने काम प्रहरीले गरिरहेको बताउँछन् ।

‘त्यो अनुसन्धानकै विषय हो, नक्कली अनुसूची थपेर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको भेटिएको छ’, केसी भन्छन्, ‘प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएका छौं, थप त्यहाँबाट अनुसन्धान भइरहेको छ ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार घटनामा हालसम्म ८ जना पक्राउ परेका छन् । अरु १०÷११ जनामाथि पनि ठगी र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने देखिएको उनले बताएका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेको डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।

यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । प्रकरणमा संलग्न पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापा, सल्लाहकार राईका छोरा निरजलगायतविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी लिएको छ । समाचारस्रोत अनलाइनखबर

प्रतिक्रिया