कैलालीको गोदावरीमा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर नेपाली कांग्रेसको पार्टी कार्यालय भवन सिलान्यास गरिए पछि स्थानीय जनताले बिरोध गर्न शुरु गरेका छन्। कैलाली क्षेत्र नम्बर ४ का सांसद वीरबहादुर बलायरले गोदावरी १ स्थित सुरक्षा महिला सामुदायिक बन भित्र जग्गामा नेपाली काँग्रेसले बिपी स्मृति भवनको सिलान्यास गरे पछि स्थानीय जनताले बिरोध गर्न शुरु गरेका हुन्।
काँग्रेस प्रदेश सभापति समेत रहेका सांसद बलायरले मंगलबार सामुदायिक वनको खाली जग्गामा नेपाली कांग्रेस क्षेत्र नं. ४ को क्षेत्रीय पार्टी कार्यालय बिपी स्मृति भवन बनाउन शुरु गरे । सो अवसरमा गोदावरीका मेयर लगायतका जनप्रतिनिधि र बनकी अध्यक्ष लक्ष्मी भण्डारी समेत सहभागी रहेकी थिइन्।
भवन शिलान्यासको तस्बिर सार्वजनिक भएपछि सो कार्यको सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको छ। बन नै अतिक्रमण गरेर पार्टी कार्यालय बनाउन नहुने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सुझाव रहेको छ।
जनप्रतिनिधीहरुले नै यसरी बन अतिक्रमण गर्ने कार्यलाई प्रोत्साहन गरेपछि सुकुम्वासीलाई हटाउने कार्यको कुनै अर्थ नहुने उनीहरूको भनाई छ । गोदावरीमा प्रतिपक्ष दल नेकपा एमालेले पनि यस कार्यको विरोध गरेको छ ।
गोदावरी नगर कमिटीका अध्यक्ष गोकर्ण भट्टले जनप्रतीनिधीहरुबाट नै बन मिचेर पार्टी कार्यालय बनाउने कुरा गलत भएको बताए । उनले सुकुम्वासीको घरमा डोजर लगाउने अनि बनमा पार्टी कार्यालय बनाउने कुरा जायज नभएको बताउँदै बन कार्यालयले तत्काल पार्टी कार्यालयको संरचना बनाउन दिन नहुने बताए।