चर्चित लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी र कमेडी सिरियलकी चर्चित कलाकार रियाशा दाहालले बुधबार एकैदिन बिबाह बन्धनमा बाँधिएका छन्।
चर्चित लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीले सात वर्ष लामो प्रेमपश्चात आफ्नै प्रेमी लोक दोहोरी गायक शक्तिकुमार गोदारसँग बुधबार एक समारोहका बीच बिबाह गरिन्। अस्मिता धादिङकी हुन भने गोदार तनहुँका हुन्। चितवनमा दोहोरी साँझमा काम गर्दादेखि शुरु भएको प्रेमले मुहुर्त पाउँदा अस्मिता डल्लाकोटी दोहोरी च्याम्पियन बनेपछि यतिबेला देशभरका मेला, महोत्सबमा सहभागी हुँदै आएकी छिन भने उनका श्रीमान शक्ति अहिले पनि चितवनमा दोहोरी साँझमा काम गर्दै आएका छन्। उनी अहिले मेला महोत्सवमा सर्वाधिक खोजिने दोहोरी गायिकामा पर्छिन् ।
गोदार भने अहिले पनि चितवनकै दोहारी साँझमा काम गरिरहेका छन् । उनी फोकस नेपाल नामको युट्यूव च्यानल पनि चलाउँछन् । उनले विगतमा भाग्य न्यौपानेसँग केही समय सहकार्य गरेका थिए । अस्मिता र गोदारले चाँडै पञ्चेवाजा नामक गीत ल्याउने तयारी गरेका छन् ।

कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् । उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए ।
भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेममा थिए । युट्यूवमा प्रशारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’ बाट रियाशा चर्चामा आएकी हुन् । सो सिरिजबाट अलग भएपछि उनी पछिल्लो समय ‘गाह्रो छ हो’ मा व्यस्त छिन् । म्युजिक भिडिओमा पनि उनी डिमान्डेड नाम हुन् ।

भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । यो पेज युवा पुस्तामाझ निकै लोकप्रिय र विश्वसनीय छ । यस पेजका फलोअर्स ३६ लाखभन्दा बढी छन् । भिक्टरलाई यही पेजले ‘रुटिने’ उपनाम दिएको हो ।


