दार्चुलाका पत्रकार अमर खत्रीमाथि कुटपिट भएको छ। शैल्यशिखर नगरपालिकाका कर्मचारीले पत्रकार खत्रीमाथि शुक्रबार दिउसो पौने १२ बजेतिर सामूहिक आक्रमण गरेका हुन्।
शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका स्वकीय सचिव भनेर चिनिने नगरपालिकामा कार्यरत कर्मचारी इन्द्रसिंह धामीसहित ५ जनाको समूहले खत्रीलाई कुटपिट गरेको बताइएको छ।
‘नगरपालिकाको बारेमा किन समाचार लेख्छस्? किन आइस्? भन्दै नगरपालिका परिसरमा ममाथि आक्रमण भयो, पछि समातेर सभाहलमा थुनेर सामुहिक रुपमा कुटपिट गरे,’ खत्रीले भने, ‘मोबाइल खोसेर रेकर्ड गरिएको भिडिओ पनि डिलिट गरेका छन्।’
मेयर धामीका स्वकीय सचिव इन्द्रसिंह धामीले नगरपालिकाको विषयमा समाचार लेखेमा मिडियामा आगो लगाउने र सिध्याउने धम्की दिएको उनले बताए।
कुटपिटमा मेयर धामीका स्वकीय सचिवसहित इन्जिनियर योगेशसिंह धामी, रामसिंह धामी, कार्यपालिका सदस्य चक्र लुहार र राजेन्द्रसिंह बिष्टलगायतको संलग्नता रहेको पत्रकार खत्रीले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ।
खत्रीको कान र हातमा चोट लागेको छ। पत्रकार खत्रीले आफूमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा निवेदन दिएका छन्। खत्री गोकुलेश्वरबाट प्रशारण हुने रेडियो चौलानी र सेतीकाली अनलाइनमा कार्यरत छन्।
उनी नगरपालिकाको व्यथितिविरुद्ध समाचार लेख्दै आएका थिए। केहीदिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले नगरपालिकालाई पत्र पठाउदै एक करोड रुपैया हिनामिनाबारे प्रश्न गरेको थियो।
थप अनुसन्धानका लागि कागजपत्र माग गरेको थियो। पत्रकार खत्रीले उक्त समाचार आफू कार्यरत सञ्चारमाध्यममा प्रकाशन र प्रशारण गरेका थिए। उक्त समाचारका विषयमा सोध्दै नगरपालिकाका कर्मचारीले आफूमाथि आक्रमण गरेको पत्रकार खत्रीले बताए।