गोर्खा नगरपालिकामा के भयो तेस्तो जसले गर्दा प्रमुखको स्वकीय सचिवलाई निष्कासन गर्न माग

गोर्खा नगरपालिकामा के भयो तेस्तो जसले गर्दा प्रमुखको स्वकीय सचिवलाई निष्कासन गर्न माग


  • जन संचार
  • शुक्रबार, १५ बैशाख २०८०
  • 5K
    Shares

गोर्खा नगरपालिकामा के भयो तेस्तो जसले गर्दा प्रमुखको स्वकीय सचिवलाई निष्कासन गर्न माग

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाका स्वकीय सचिव अनिष अर्याल(ज्याक)लाई पदबाट हटाउन कर्मचारीहरुले माग गरेका छन्।

कार्यालयभित्र बारम्बार गुण्डागर्दी शैलीमा डर, धाक, धम्की देखाउने गरेको भन्दै कार्यालयका ४६ जना कर्मचारीले हस्ताक्षर गरी अर्यालको करार सम्झौता भंग गर्न माग गरेका हुन्।

गरिमामय पदमा रहेका व्यक्तिको स्वकीय सचिव जस्तो व्यक्तिले बारम्बार कार्यपालिकाको कार्यालयभित्र गुण्डागर्दी शैलीमा कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै कर्मचारीले उनको करार सम्झौता भंग गर्न माग गरेका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्र खड्काले जानकारी दिए।

पछिल्लो पटक गत मंगलबार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाभित्र अमर्यादित ढंगले प्रवेश गरी अत्यन्त महत्वपूर्ण तथा गोप्य कागजात च्यात्ने तथा कर्मचारीमाथि दुर्व्यवहारको प्रयास गरेको कर्मचारीको आरोप छ।

बारम्बार नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुमाथि जाइलाग्ने, नियमविपरीत काम गर्न दबाब दिने गरेको भन्दै नगरपालिकाभित्र कार्यरत ४६ जना कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतसमक्ष सोसम्बन्धी मागपत्र पेश गरेका थिए।

‘विभिन्न शाखाहरुमा अवाञ्छित तबरले प्रवेश गर्ने, अमर्यादित गतिविधि गर्ने, महत्वपूर्ण कागजात जफत गर्न तथा च्यात्न खोज्ने, कर्मचारीमाथि कुटपिटको धम्की बारम्बार दिइरहने, दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने जस्ता अनैतिक काम गर्ने मेयरसावका स्वकीय सचिवलाई निश्कासन गर्नुपर्छ भन्ने माग राखेर हामी ४६ जना कर्मचारीले हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकृतसमक्ष माग पत्र पेश गरेका छौँ’, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्रबहादुर खड्काले भने, ‘उनको गतिविधिले कार्यालयभित्रका कर्मचारीमा काम गर्ने मनोबल गिरेको छ। यसअघि अर्का एक शाखा प्रमुख चेतप्रसाद अम्गाईमाथि पनि त्यसरी नै जाइलागे। कर्मचारीमाथि दुर्व्यवहार भयो भनेर मेयरसावको ध्यानाकर्षण गरायौँ। मेयरसावले आन्तरिक रुपमै करेक्शन गराउने आश्वासन दिनुभयो।’

उनले थप भने, ‘तीनसाता पनि नबित्दै फेरि अहिले कानून विपरीत काम गर्न र नगरे कागजात च्यात्छु भन्दै कार्यकक्षभित्र ममाथि जाइलाग्ने काम भयो। त्यसैले अबको अन्तिम माग भनेकै उनको बहिर्गमन हो। त्यही एकमात्र माग राखेर हामीले अधिकांश कर्मचारीको हस्ताक्षरसहितको माग पत्र पेश गरेका छौँ।’

स्वकीय सचिव अर्यालले कानून विपरीत सरकारी नंबरप्लेटको मोटरसाइकल प्रयोग गर्ने, नगरपालिकाका योजना, लेखालगायतका हरेक शाखामा ठाडो हस्ताक्षेप गर्ने गरेको आरोप कर्मचारीको छ।

बिगत तीन महिनाअघि विभिन्न विद्यालयका विभिन्न दरबन्दीमा शिक्षक आवश्यकता सम्बन्धी सूचना आह्वान भएको थियो। सूचना अनुसार गत वैशाख ११ गते सोमबार तारा मावि छेपेटारमा कक्षा ११ र १२ मा एकाउण्ट पढाउने र मावि तहमा विज्ञान विषयका राहत शिक्षकका लागि तथा सरस्वती मावि आहालेका लागि गणित शिक्षकको पदपूर्तिका लागि परीक्षा भएको थियो। भरतकाजी अर्याल, रामबाबु श्रेष्ठ र यदु अधिकारी रहेको शिक्षक छनौट समितिले परीक्षा गरी नतिजा प्रकाशित गरेको थियो।

त्यसको भोलिपल्ट १२ गते मंगलबार रामशाह आधारभूत विद्यालय देउरालीको निमावि अंग्रेजी विषयका राहत शिक्षकका लागि परीक्षा भएको थियो। निवेदन दिने १८ जनामध्य १५ जनाले परीक्षा दिएकामा परीक्षा छनौट समितिले एकजनाको नाम प्रकाशित गरेको थियो।

शिक्षा सेवा आयोगद्वारा निर्दिष्ट व्यवस्थाअनुसार परीक्षा समितिले परीक्षा गरी नाम प्रकाशित गरेकामा नगरप्रमुख कृष्ण रानाका स्वकीय सचिव अनिष अर्याल(ज्याक) परीक्षा समितिले तयार गरेको कागजात च्यात्छु भन्दै शिक्षा शाखाभित्र आक्रामक रुपमा प्रवेश गरी अश्लील शव्द प्रयोग गरी गाली गलौज गर्ने, शाखा प्रमुख चन्द्रबहादुर खड्कामाथि जाइलाग्ने जस्ता अवाञ्छित गतिविधि गरेको शाखा प्रमुख खड्काको भनाइ छ।

‘परीक्षा तथा नतिजा सम्बन्धी अत्यन्त गोप्य तथा संवेदनशील काम भइरहेको ठाउँमा त्यसरी अमर्यादित व्यवहार गरेपछि भरतकाजी अर्याल सर र म मिलेर समातेर बाहिर निकालेका थियौँ। पछि मेयरसावलाई फोन गरी घटनाको बारेमा पनि जानकारी गराएका थियौँ। मर्यादित संस्थामाथि सधैं गुण्डाराज चल्दैन। सँधै सहन पनि सकिँदैन। नगरपालिकाबाट कुनै पनि हालतमा उनको बहिर्गमन हुनुपर्छ भन्ने हामी सबैको एकसुत्रीय माग छ।’

मेयर रानाका पिए अर्यालले यसअघि द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि कुटपिट गर्ने, तोडफोड गर्ने जस्ता गतिविधि पनि गरेका थिए। मर्यादित संस्थामा आवद्ध भएर काम गर्ने व्यक्तिले गुण्डागर्दी व्यवहार गरेर संस्थाको समेत बदनाम गर्ने प्रयास गरेको भन्दै नगरपालिकाका कर्मचारीहरुले उनको निश्कासनको माग गरेको बताएका छन्।

प्रतिक्रिया