आर्थिक मन्दीले रोकियो शिक्षकको पेन्सन

आर्थिक मन्दीले रोकियो शिक्षकको पेन्सन

करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएनन्


  • जन संचार
  • बुधबार, १३ बैशाख २०८०
  • 3.6K
    Shares

मुलुकमा देखिएको आर्थिक मन्दीको कारण गएको चैत महिनामा ३० हजार शिक्षकहरुको पेन्शन रोकिएको छ। ५१ हजार तीन सय आठ जना पेन्सनधारी शिक्षकहरू रहेकोमा करिब ३० हजार शिक्षकले चैतको पेन्सन नपाएका निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ।

निवृत्तिभरण व्यवस्थापन कार्यालयले पेन्सनधारी शिक्षकको पेन्सन नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमार्फत पेन्सनधारीको खातामा रकम जम्मा गर्ने गरेको छ । तर गएको चैत महिनामा काठमाडौं उपत्यकाका तीन जिल्ला र बाहिरी जिल्लाका केही बैंक शाखाले रकम नपाएपछि खातामा पैसा पठाउन नसकेका बताइएको छ। कार्यालय प्रमुख खरेलले मंगलबार मात्र अर्थ मन्त्रालयले तीन अर्ब रुपैयाँ बजेट निकासा दिएकाले समस्या अब समाधान हुने जानकारी दिए । ‘पेन्सन भुक्तानी गर्न बजेट अभाव भएपछि अर्थ मन्त्रालयसँग बजेट मागेका थियौँ,’ उनले भने, ‘मंगलबार तीन अर्ब बजेट निकासा पाएका छौँ । अब समस्या समाधान हुन्छ ।’ १८–२० गतेभित्र रोकिएको पेन्सन रकम भुक्तानी हुने उनले बताए । पेन्सन भुक्तानीका लागि यो आर्थिक वर्षमा अरू दुई अर्ब आवश्यक पर्ने उनको भनाइ छ ।

कतिले पाउँछन् पेन्सन ?
सेवानिवृत्त सरकारी वेतनधारी निजामती र अन्तर्गतका कर्मचारी, नेपाल प्रहरी र अन्तर्गत, नेपाली सेना र शिक्षकलाई सरकारले कानुनबमोजिम पेन्सन उपलब्ध गराउँछ । कार्यालयका अनुसार हाल पेन्सन पाउनेको संख्या दुई लाख ८३ हजार एक सय ७५ छ । संख्यात्मक हिसाबमा सबैभन्दा बढी पेन्सन पाउनेमा क्रमशः नेपाली सेना, निजामती कर्मचारी, नेपाल प्रहरी र शिक्षक छन् । सेनाका ९२ हजार आठ सय ८५ ले पेन्सन पाउँछन् । निजामतीका ८० हजार पाँच सय ८४, प्रहरीका ५८ हजार तीन सय ९८ र ५१ हजार तीन सय आठ शिक्षक छन् ।

कति हुन्छ पेन्सनमा खर्च ?
निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार गत आवमा सरकारले पेन्सनबापत ६४ अर्ब १९ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको थियो । विगत आठ वर्षमा मात्र पेन्सन भार ३८ अर्ब १८ करोड ७४ लाख बढेको छ । आव ०७१/७२ मा पेन्सनमा २६ अर्ब एक करोड ६ लाख, आव ०७२/७३ मा २६ अर्ब ९२ करोड ७२ लाख र आव ०७३/७४ मा ३७ अर्ब नौ करोड ८२ लाख पेन्सन भुक्तान भएको थियो । त्यस्तै, आव ०७४/७५ मा ४० अर्ब १४ करोड ९० लाख, आव ०७५/७६ मा ४४ अर्ब, ०७६/७७ मा ५३ अर्ब ५४ करोड ३० लाख र आव ०७७/७८ मा ५५ अर्ब ५३ करोड ५८ लाख रुपैयाँ पेन्सनका लागि खर्च भएको थियो ।

प्रतिक्रिया