सिमा अतिक्रमण बारे बनाइएको चलचित्र जाँच समितिले फिल्म ‘काँडेतार’लाई प्रदर्शनमा रोक लगाएको छ। नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा असर पुग्ने भन्दै चलचित्र जाँच समितिले फिल्म ‘काँडेतार’लाई प्रदर्शनमा रोक लगाएको हो।
फिल्म सेन्सर बोर्डका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले ‘दुई देशबीचको कुरा भएकाले संवेदनशील देखिएकाले फिल्म ‘काँडेतार’लाई प्रदर्शनमा रोक लगाइएको बताए।
फिल्म हेरिसकेपछि बोर्डका पदाधिकारीले सोमबार बेलुका फिल्मलाई सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेको समाचारमा जनाइएको छ। ‘कथावस्तु र प्रस्तुतिले देशलाई घोच्ने गरी आए भने त रोक्नकै लागि बनाएको हो नि त यो,’ सुवेदीले भने । निर्माताले यसबारे गम्भीर भएर सोच्नुपर्ने उनले बताए । ‘हामीले फिल्म रोकेका होइनौं । बैठक बसेर केही न केही सुुझाव त बोर्डले दिन पाइहाल्छ नि । हामीले उहाँलाई अहिले मर्यादित ढंगले प्रस्तुत गर्नुस् भनेका छौं,’ उनले भने, ‘रोक्नुस्, प्रदर्शन नगर्नुस् भनेको होइन ।’
तर निर्माता तथा निर्देशक नवल खड्काले चाहिं फिल्मलाई प्रदर्शन अनुमति नदिने बोर्डको निर्णयविरुद्ध अदालत जाने बताएका छन् । नेपाल-भारतको खुला सीमाको कारण सीमा क्षेत्रमा भइरहेको अपराध, नागरिकमाथिको ‘अत्याचार’सहित गृह प्रशासनका केही दृश्य र संवादमा सेन्सर बोर्डले आपत्ति जनाएको निर्देशक खड्काले बताए ।
कुनै पनि दृश्य र भाषामा कैंची नचलाइकन सेन्सर पास गर्न आफूले आग्रह गरेको समेत उनले बताए । शिवम् अधिकारी र नवल खड्काको संयुक्त लेखन रहेको यो फिल्मले नेपाल र भारतबीचको सीमा क्षेत्रमा काँडेतार लगाएर आवागमनलाई व्यवस्थित गराउनुपर्ने, भारतीय मिचाहा प्रवृत्तिको प्रतिरोध गर्नुपर्ने लगायतका कथा पेश गर्छ ।
नवल खड्काले निर्माण र अभिनय गरेका अघिल्ला फिल्महरु भीमदत्त, दशगजा र आवाज लगायतका फिल्ममा पनि सेन्सर झमेलो खेप्नुपरेको थियो । पछिल्लो फिल्म ‘काँडेतार’को प्रदर्शन मिति घोषणा भइसकेको छैन । सेन्सर पास भएपछि मात्र मिति तय गर्ने खड्काले जानकारी दिए ।