प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन निर्वाचन क्षेत्रहरु चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन अन्तर्गत आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ र साँझ पांच बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन निर्वाचन क्षेत्रमा ६५ उम्मेदवार मैदानमा छन् । मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द व्यवस्थापन गरिएको छ ।
नौजना उम्मेदवार रहेको तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २२ जना उम्मेदवार रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमाले उम्मेदवार रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धी मानिएका छन् । बारा २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाह, रास्वपाबाट पूर्वडिआइजी रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेलबीच प्रतिस्पर्धाको आकलन छ ।
चितवन २ मा यसअघि लामिछाने देशभरमै सबैभन्दा धेरै मतान्तरले निर्वाचित भएको क्षेत्र हो । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएका निर्वाचन क्षेत्र हुन् । यसअघि चुनाव जितेका क्षेत्रहरू भएकाले चितवनमा रास्वपा, तनहुँमा कांग्रेस र बारा जसपाका लागि परिणाम ल्याउनैपर्ने दबाबका कारण प्रतिष्ठाको निर्वाचन बनेको छ ।
आचारसंहिता कार्यान्वयनका लागि अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाई सूक्ष्म अनुगमनको व्यवस्थासमेत मिलाइएको आयोगले जनाएको छ । साथै, आयोगले निर्वाचन हुने क्षेत्रका लागि दशबुँदे विशेष निर्देशनसमेत दिएको छ । आयोगले सम्बन्धित जिल्लामा आवागमन र सवारीसाधन सञ्चालनका लागि स्थानीय प्रशासनलाई आवश्यक व्यवस्थान हुने जनाएको छ । मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्तीसमेत गरिएको जनाइएको छ ।
उपनिर्वाचन पर्यवेक्षणका लागि ६ संस्थाले अनुमति पाएका छन् । अनुमति पाउनेमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।
यसैबीच निर्वाचन आयोगले चितवनसहित तीन जिल्लाहरुमा हुने उपनिर्वाचनमा असामान्य परिस्थिति सिर्जना भएमा तत्काल आयोगलाई जानकारी गराउन निर्देशन दिएको छ । आयोगले शनिबार एक विज्ञप्ति प्रेषित गर्दै मतदान केन्द्रमा कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप वा असामान्य परिस्थिति सृर्जना भएमा तत्काल निर्वाचन अधिकृत, सुरक्षा संयन्त्र र आयोगमा जानकारी गराई मतदान कार्य सुचारु गर्न आवश्यक वातावरण मिलाउन निर्देशन दिएको हो ।
तोकिएको समयमा मतदान कार्य प्रारम्भ गरी मतदानलाई प्रचलित कानुन र निर्देशिकाको पूर्ण पालनासहित सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सरोकारवालाहरुलाई आव्हान गरेको छ । आयोगले राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र सम्बद्ध सबैमा सो आव्हान गरेको हो ।