विराटनगरमा जातीय पहिचानवादी प्रदर्शनकारीहरु र प्रहरीबीच झडप भएको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो ।
पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको बृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेकोमा उपचारकै क्रममा चैत १० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो। त्यसपछि प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले उनलाई शहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए । लाजेहाङलाई संघीय सरकारले शहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।
यद्यपि संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका छन् । लाजेहाङको शव विपी प्रतिष्ठान धरानको शव गृहमै रहेको थियो । लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो । सोही क्रममा झडप भएको हो ।