आफुलाई न्यायाधिश समेत रहेका श्रीमान् भुवन गिरीले वलात्कार गरेको आरोप लगाएकी आरती रावललाई प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको छ। सरकारी कागज किर्ते मुद्दामा फरार रहेको भनिएकी आरती रावललाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतबाट सरकारी कागज किर्तेमा पक्राउ पुर्जी जारी भए पनि उनी लामो समयदेखि फरार रहेको प्रहरीले जानकारी दिएको छ । रावललाई सोमबार अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावललाई यसअघि नै पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो । आरतीमाथि न्यायाधीश गिरीका आफन्तले गाली बेइज्जतीको कम्तीमा ५ वटा मुद्दा बाँके जिल्ला अदालतमा दर्ता गराएका छन् भने न्यायाधीश गिरीले दर्ता गराएको आरतीसँग सम्बन्ध बिच्छेदको मुद्दा पनि जिल्ला अदालतमा बिचाराधीन छ ।
कपिलवस्तु अदालतमा रहेका न्यायाधिश गिरी काज सरूवा मिलाएर न्याय परिषद काठमाडौंमा गएकाे समयमा एक साताअघि पक्राउ परेको थिए । सुर्खेतबाट पांच वर्षअघि परिचित गिरी र रावलले दाेस्राे बिहे गरे पनि त्यसयता सम्बन्ध राम्रो छैन । सुर्खेतपछि बाँके, कैलाली, कपिलवस्तु, काठमाडौं सबै ठाउँ पुगे पनि उनीहरूबीचकाे विवाद चलिरहेकाे छ । पछिल्लो पटक रावलले काठमाडौं गिरीले इच्छाविपरीत याैनशाेषण गरेकाे आरोप लगाएकी थिइन् ।