नेपाली भूमिमा बिजुलीको पोल गाड्न खोज्दा भारतीय सीमा सुरक्षा बलद्वारा अवरोध : सिडियो पुगे अवरोधस्थल

नेपाली भूमिमा बिजुलीको पोल गाड्न खोज्दा भारतीय सीमा सुरक्षा बलद्वारा अवरोध : सिडियो पुगे अवरोधस्थल


  • जन संचार
  • सोमबार, ४ बैशाख २०८०
  • 3.2K
    Shares

कञ्चनपुरको बेलौरीस्थित नेपाल विद्युत प्राधिकरणको शाखाले पछिल्लो साता बेलौरी नगरपालिका–८ पचुइँस्थित हुलाकी सडक खण्डमा विद्युत लाईन ब्यवस्थित गर्न आफ्नै भूमिमा पोल गाड्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पु-याएको खबर छ।

बिगत तीन वर्षदेखि पचुइँस्थित करिब १ हजार ५ सय मिटर हुलाकी सडक खण्ड भारतमा परेको भन्दै एसएसबीले अबरोध गरिरहेको छ। जसका कारण हुलाकी सडक निर्माणको काम पनि रोकिएको छ। त्यसयता हुलाकी सडक निर्माणको काम ठप्प छ।

यसैबिच, बिद्युत प्राधिकरणले पोल गाड्न खोज्दा भारतीय सिमा सुरक्षा बलले अवरोध पुर्याएको खबर पाए पछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले उक्त क्षेत्रको अनुगमन गरेका छन्।

प्रजिअसँगै जिल्ला सुरक्षा निकायका अन्य प्रमुख र अन्तर्राष्ट्रिय सीमा सरोकार समूहको टोलीले स्थलगत अनुगमन गरेको हो।

आइतबार अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी अर्यालले समस्या समाधानका लागि भारतीय पक्षसँग हुने आपसी बैठकमा कुरा उठान गर्ने र थप जानकारी माथिल्लो निकायमा गराउने बताए।

‘भारतले हुलाकी सडक र विद्युत लाईन विस्तारमा अवरोध गरेको जानकारी पाए,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘यहाँ देखापरेको समस्या सरकारलाई जानकारी गराएर भारतीय समकक्षीसँग समन्वय गरी सहजीकरण गर्छु।’

स्ट्रीप नक्साको कारण बेला,बेला सीमा समस्या आउने गरेकोले नक्शा सच्याउन सरकारसँग अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लबराज भट्टले आग्रह गरेका छन्।

‘प्रधानमन्त्री केहि दिनमै भारत भ्रमणमा जाने भन्ने सुनिएको छ, परराष्ट्रमन्त्री यसै क्षेत्रबाट निर्वाचित भएका हुनुहुन्छ,’ सीमा सरोकार समूहका संयोजक भट्टले भने, ‘भारतसँग वार्ता गरी सीमा समस्या समाधान गर्न नेपाल सरकारले पहल गरोस्।’

नेपाली भूमि भारतमा पर्ने गरी २०५९ सालमा तयार गरिएको स्ट्रीप नक्शा तत्काल सच्याउनुपर्ने सरोकार समूहको माग रहेको छ।

‘नेपाल सरकारले स्ट्रीप नक्सा सच्याउन पहल नगरेमा त्यो नक्सा तयार गर्दा भारत तिर पारिएको हाम्रो लालपुर्जा भएको जमिन, नहर र विद्यालयका भवन, तालतलैया सहितको हाम्रो भूमी भारतले खालि गराउने छ,’ संयोजक भट्टले भने, ‘०७६ सालमै नापेर छुट्टयाउन खोजियो तर सीमा सरोकार समूहको दबाव र पहलकदमीले आजसम्म नापि हुन रोकियो।’

कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा भारतले विगतदेखि नै अवरोध सृजना गर्दै आएको छ। पूर्जावाला जमिन जोत्न दिएको छैन भने हुलाकी सडक निर्माणमा पनि व्यवधान उत्पन्न गरिरहेको छ। सीमा सरोकार समूहले राष्ट्रियताको यो मुद्दालाई उठान गर्दै आएको छ।

प्रतिक्रिया