किन गोली हाने माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’कि आमालाई भीआईपी सुरक्षार्थ खटिएका सहायक हवल्दारले ?

किन गोली हाने माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’कि आमालाई भीआईपी सुरक्षार्थ खटिएका सहायक हवल्दारले ?


  • जन संचार
  • शनिबार, २ बैशाख २०८०
  • 6.3K
    Shares

भीआईपी सुरक्षामा खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छिन्। पुनको काठमाडौंको गैरीधारास्थित घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओ प्रहरी सहायक हवल्दार प्रकाश पुन मगर गएराति साढे ९ बजे गोली चलाउँदा पुनको आमा ७४ वर्षीया तीर्थमाली पुन घाइते भएकी हुन्।

घाइते आमा तीर्थमालीलाई खुट्टाको बुढी औलामा गोली लागेको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली हानेर पेस्तोल त्यही छाडेर भागेका सहायक हवल्दार प्रकाश पुन मगरलाई काठमाण्डौको बागडोलबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । आरोपीलाई अहिले अनुसन्धानका लागि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा लगिएको छ । सुरक्षा सेवा निर्देशनालयबाट खटिएका प्रहरी सहायक हवल्दार पुन मगर प्रधानन्यायाधीशको पछुवा गाडीमा हिँडिरहने सुरक्षाकर्मी हुन् ।

प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले आफ्नै पेस्तोलबाट गोली प्रहार गरेको र उनलाई प्रहरीले पक्राउ गरिसकेको समाचार स्रोतले जानकारी दिएको छ । प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ ।

प्राप्त समाचार अनुसार, प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार प्रकाश पुन मगर गएराति नयाँ वर्ष मनाउन ७४ वर्षीया तिर्थमालीको निवासमा गएका थिए । तिर्थमाली नातामा उनको हजुरआमा हुन् । ‘नेता पुनको भाइको साथी पनि भएकाले उहाँ प्रायः आइराख्नुहुन्थ्यो’, पुननिकट स्रोतले भन्यो, ‘शुक्रबार पनि त्यही भएर आउनु भएको थियो, पुनको आमालाई उहाँले हजुरआमा भन्नुहुन्थ्यो ।’

कामु प्रधानन्यायाधीशको सुरक्षार्थ खटिएका उनी ड्यूटी सकेर त्यहाँ पुगेका थिए । साथमा पेस्तोल लिएरै गएका थिए ।

प्रहरीका अनुसार, विशिष्ट व्यक्ति सुरक्षामा खटिने सुरक्षाकर्मीलाई जुनसुकै बेला हतियार चाहिन सक्ने हुनाले स्थायी रुपमा दिने गरिन्छ । त्यहाँ हवल्दार मगरले मादक पदार्थ सेवन गरेपछि सामान्य विषयमा विवाद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

‘विवादबीच आफूसँग भएको पेस्तोल निकालेछन्, त्यसक्रममा एक्कासी पड्किएको जस्तो देखिएको छ’, ती अधिकृत भन्छन् ।घटना शुक्रबार बेलुकी साढे ९ बजेको भए पनि प्रहरीले मध्यराति १ बजे मात्रै खबर पाएको थियो ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, प्रहरीले गरेको सोधपुछको क्रममा नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई गोली हानेको आरोप लागेका प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले आफुले नियतवश गोली नचलाएको बयान दिएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएको नेपाल प्रहरीका एक उच्च अधिकृतले बताएको भन्दै अनलाइनखबरले समाचार छापेको छ। ‘दुर्घटनावश गोली चलेको हो’, उनले भनाइ उदृत गर्दै ती प्रहरी अधिकृतले भने ।

पक्राउ परेपछि गरिएको सोधपुछका क्रममा उनले दुर्घटनावश गोली पड्किएको दाबी गरे पनि उनले किन लोडेड हतियार त्यसरी बोकेका थिए भन्ने खुलेको छैन ।

‘लोडेड पेस्तोल त्यसरी बोकेर पारिवारिक जमघटमा जानुमा गम्भीर लापरबाही देखिन्छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘हालसम्मको अनुसन्धानले गोली चलाउनु पछाडिको अरु कारण देखाएको छैन ।’

‘नियत थियो थिएन अर्को पाटो हो, प्रहरीको हतियारबाट त्यसरी गोली चल्नु नै गम्भीर हो’, एक प्रहरी उच्च अधिकृत भन्छन्, ‘छानबिन समिति गठन गरेर यस विषयमा विस्तृत अनुसन्धान हुन्छ ।’

प्रतिक्रिया