सिन्धुलीमा मध्यराती भारतीय कार दुर्घटनाग्रस्त : चार जना भारतीय नागरिकको मृत्यु

सिन्धुलीमा मध्यराती भारतीय कार दुर्घटनाग्रस्त : चार जना भारतीय नागरिकको मृत्यु


  • जन संचार
  • बुधबार, २९ चैत्र २०७९
  • 2.3K
    Shares

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक गएराती एउटा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

बीआर ०६ डिडी ०६८ नम्बर भएको भारतीय नम्बरप्लेटको कार गए राति १२ : ३० बजे दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाल जानकारी दिए। कारमा सवार पाँच जनामध्ये चार जना पुरुषको मृत्यु भएको र दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि धुलिखेल पठाईएको प्रहरीले जानकारी दिएको छ।

मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए ।

राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन । “त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ”, उनले भने । शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताए । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन ।

प्रतिक्रिया