काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन दिएको छ ।
कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै मेयर बालेन साहले ती संरचना आफैं हटाउन निर्देशन दिएका हुन् ।
‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला,’ मेयर साहले भनेका छन्, ‘नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’
सर्वसाधारणका लागि फुटपाथमा व्यापार गर्न रोकेको मात्रै होइन बाटो मिचेर बनाइएका प्रहरी बिटहरू पनि हटाउनु पर्ने उनले बताए ।
उनले हटाउनु पर्ने प्रहरी बिटहरू पनि सार्वजनिक गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट, चिकमंगलम, धोवी चोर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिट हटाउनु पर्नेछ ।
दूतावासलगायत विदेशी नियोगका सम्बन्धमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिएको उनले बताएका छन् ।