नाइजेरियाको बेनुए राज्यको उमोगिडी समुदायमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।
घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने स्थायी किसानहरू बीच बदलाका लागि भएको भिडन्तमा ५० जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।
आक्रमण गर्ने गोठालाहरू रहेको त्यहाँका अधिकारीहरूको दाबी छ । गोठालोले गाईवस्तु चराएर खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् ।
बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाका अनुसार ‘धेरै मानिस अझै हराइरहेका छन् । त्यसैले मारिनेको सङ्ख्या अझै बढी हुन सक्छ ।’
उनले गोठालाहरूले विगत एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेको बताए । उनले भने, ‘त्यस क्षेत्रमा सैनिक पठाइएको छ, त्यसैले अहिले स्थिति केही शान्त छ ।’
देशको उत्तरपश्चिम र मध्य भागमा अन्तरसाम्प्रदायिक हिंसा व्यापक अपराधमा परिणत भएको छ, जहाँ भारी सशस्त्र डाकु लडाकूहरूले गाउँहरूमा तोडफोड गर्छन् र फिरौतीको लागि सामूहिक अपहरण गर्छन् ।