नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । दुई वर्षअघि तिब्बतबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेकी तिब्बती शरणार्थी २७ वर्षीया निमा ल्हामो गुरुङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । उनलाई प्रहरीले बिहीबार वौद्धबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको पाइएको प्रहरीको भनाइ छ । उनले बौद्ध टुसालमा रहेको शरणार्थी क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नागरिकता बनाउने गिरोहका कृष्णबहादुर कटुवालसँग सम्पर्क गरेकी थिइन् । कटुवालले नागरिकता बनाइदिएवापत उनीसँग पांच लाख रुपैयाँ लिएको खुलेको प्रहरीको भनाइ छ ।
यसअघि प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन संलग्न कटुवालसहित पांच जनालाई पक्राउ गरेको थियो ।