भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युको मामिलामा भारतीय प्रहरीले अर्का भोजपुरी गायक समर सिंहलाई भारतको गाजियाबादबाट पक्राउ गरेको छ । समर सिंहलाई शुक्रवार गाजियाबादको अदालतमा पेस गरिनेछ । त्यहाँबाट ट्रान्जिट रिमान्ड लिएर उनलाई वाराणसी लगिनेछ ।
२६ मार्चमा आकांक्षा दुबेको शव वाराणसीको एक होटेलमा भेटिएको थियो । आकांक्षा दुबे कथित रूपमा एक फिल्मको सुटिङका लागि वाराणसी गएकी थिइन् । आकांक्षाको मृत्युपछि उनकी आमाको उजुरीको आधारमा वाराणसीका सारनाथ थानामा एक मुद्दा दर्ता गरिएको छ ।
यसमा उनकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि आफ्नी ‘छोरीलाई मारेको’ आरोप लगाएकी छिन् ।
भोजपुरी नायिका आकांक्षा दुबेले बनारसको एक होटलमा झुन्डिएर आत्महत्या गरेकी थिइन्। आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामको फिल्ममा काम गरेकी थिइन् । २६ मार्चमा नै भोजपुरी अभिनेता पवन सिंहसँग उनको नयाँ गीत रिलिज भएको थियो । यो गीतको नाम ‘आरा कभी हारा नहीं’ हो ।