आठसय ७५ नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहमा एमालेभित्रका पूर्व माओवादी नेताहरुको ‘संलग्नता’

आठसय ७५ नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहमा एमालेभित्रका पूर्व माओवादी नेताहरुको ‘संलग्नता’


  • जन संचार
  • शुक्रबार, २४ चैत्र २०७९
  • 6.2K
    Shares

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।

धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गरिए पनि केही शरणार्थी अझै अलपत्र छन् । छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा कार्यदल गठन गरेको थियो ।

गृहका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले काम गरिरहेकै बखत राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची संकलन गरेको पुष्टि भएको छ ।

गृहको कार्यदलको प्रतिवेदन अझै सार्वजनिक भएको छैन । तर सरकारीस्तरबाटै प्रतिवेदन हात पारेको गिरोहले प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरी पैसा संकलन गरेको थियो । यही आधारमा गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका आठसय ७५ जनाबाट प्रतिव्यक्ति १० देखि ५० लाखसम्म उठाएको थियो । गिरोहले कैयौंलाई शरणार्थीका रूपमा नक्कली कार्ड पनि बनाइदिएको थियो ।

पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ । दुलाल कांग्रेस नेता सुजाता कोइराला उपप्रधानमन्त्री भएका बेला निजी सहायक थिए । दुलाल, भण्डारी, थुलुङ र गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले १० दिनअघि पक्राउ गरिसकेको छ । उनीहरूबाट बरामद कागजपत्रले राजनीतिक नेतृत्वको संरक्षण रहेको पुष्टि गरेको छ ।

एमाले सचिव तथा अर्घाखाँचीका सांसद रायमाझीले दुलाल, भण्डारी, पोखरेलसँग निकटकै सम्बन्ध रहेको र उनीहरूको योजनामा ‘अन्जानवश’ सहयोग गरेको प्रस्टीकरण दिएका छन् । नेपालको शान्ति प्रक्रियामा संलग्न आफू सोही क्रममा नेपाली कांग्रेसकी नेत्तृ सुजाता कोइरालाका तात्कालिन सहयोगी केशव दुलालसँग चिनजान भएपछि निकटको सम्पर्क र भेटघाट रहेको नेता रायमाझीले स्वीकारे। शरणार्थी शिविरमा बाँकी रहेका भुटानीलाई छुट दर्ता वा नयाँ दर्ता गराएर अमेरिकासहितका मुलुकमा लगिनुपर्छ भन्दै दुलाल, भण्डारीसहितको टोली आएपछि मानवीय सन्दर्भमा सहयोग गरेको रायमाझीले बताए । ‘शरणार्थीको परिवार छिन्नभिन्न छ, केही यता शिविरमा दुःखपूर्वक बसिरहेका छन् । यिनलाई पनि अमेरिका लैजान हामीले सहयोग गर्नुपर्छ भन्दै दुलालजी आउनुभएको हो,’ उनले भने, ‘यसैक्रममा शरणार्थी समस्या समाधान गर्न कार्यदल बनेको थियो । त्यसका संयोजक पन्थीजीसँग पनि भेटघाट गरेर छलफल गरेको थिएँ ।’

गृह मन्त्रालयले २०७६ असार २९ गते कार्यदलको कार्यादेश पारित गरेलगत्तै प्रतिलिपि गिरोहको हातमा पुगेको थियो । कार्यादेश पारित भएकै राति १०ः३७ मा दुलालको ह्वाट्सएपबाट प्रतिलिपि मोरङको पथरी–शनिश्चरेका एक वडाध्यक्षसहितको मोबाइलमा पुगिसकेको थियो । गृह मन्त्रालयको दस्ताबेज देखाएर गिरोहका सदस्यहरूले ‘अब भुटानी शरणार्थीको छुट दर्ता गर्ने, हाम्रै मान्छेको नाम राख्ने, अमेरिका उडाउने’ भन्दै प्रचार गरेका थिए ।

दुलालसहितको टोलीले गिरोहकै रूपमा यस्तो काम गरिरहेको छ भन्ने आफूलाई यसअघि थाहा नभएको पनि रायमाझीको दाबी छ । २०७७ पुस ५ मा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्दा रायमाझी ऊर्जामन्त्री भएका थिए ।

आफूलाई एक पटक अलिक अप्ठ्यारो लागेर ‘कतै तपाईंहरूले शरणार्थीका नाममा गैरशरणार्थीलाई बाहिर लैजान थालेको त होइन नि ?’ भनेर दुलाललाई सोधेको पनि रायमाझीले बताए । तर दुलालले गलत काम होइन भनेर आफूलाई ढुक्क बनाएको उनको भनाइ छ । ‘शरणार्थीका नाममा नेपालीबाट पैसा उठाइएकोबारे बल्ल थाहा पाएँ, अहिले दुलालसहितका केही व्यक्ति पक्राउ परेको पनि सुनेको छु,’ उनले भने । दुलाल, भण्डारी र शर्मासहित नेता रायमाझी हेलिकोप्टर चार्टर गरेर गोसाइँकुण्ड घुमेको फोटोलाई पनि अनुसन्धान टोलीले गम्भीरतापूर्वक लिएको छ । उनले भने यो टोलीसँग अन्य धेरै ठाउँ घुमेको बताएका छन् । ‘हो, म गएको हुँ, गोसाइँकुण्डबाहेक अरू धेरैतिर गएको छु । साथीभाइ, चिनारु भएपछि उठबस, हिँडडुल भैहाल्छ नि,’ रायमाझीले भने ।

उनले भुटानी शरणार्थीलाई सहयोग पुगोस् भन्ने मानवीय भावनाले ‘लबिइङ’ गरेको दाबी गरे पनि गिरोहका सदस्यका तर्फबाट रायमाझीका छोरा सन्दीपका नाममा काटिएको १ करोड ५० लाखको चेक प्रहरीले बरामद गरेको छ । प्रहरीले गिरोहका सदस्यले एकापसमा र अरूलाई काटेका केही चेक र कागजात बरामद गर्दा सन्दीपको नामका काटिएको चेक पनि भेटिएको हो । यो विषयमा कान्तिपुरले सन्दीपलाई पनि सम्पर्क गरेको थियो । उनले आफू सामान्य व्यापारी रहेको र त्यति ठूलो रकम कहींबाट नपाएको दाबी गरे । ‘मैले कहींकतैबाट यत्रो रकम पाउने कुरै आएन, म सामान्य व्यापारी हुँ, त्यस्तो चेक कतै साटिएको भएमा त्यो प्रमाणको पनि खोजी होला,’ उनले भने ।

गिरोहका सदस्य अशोक पोखरेलले नबिल बैंकमा रहेको आफ्नो खाताको चेकबाट २०७६ जेठ १९ गते सन्दीपका नाममा चेक काटेका थिए । टोपबहादुरले पनि पोखरेलसँग चिनजान रहेको र विभिन्न विषयमा सहयोग गरेको बताए । ‘इटहरीका अशोक पोखरेललाई नजिकबाट चिनेको छु, विभिन्न काममा धेरै सहयोग गरेको छु ।’ विराटनगरस्थित कान्तिपुर प्रतिनिधिका अनुसार, गत वर्षसम्म इटहरीमा एपेक्स हस्पिटल सञ्चालन गर्दै आएका पोखरेल अहिले अस्पताल बिक्री गरेर अमेरिका पुगेका छन् ।

प्रहरीले अरू चेक पनि बरामद गरेको छ । माछापुच्छ्रे बैंक, न्युरोड शाखामा रहेको खाताको चेकबाट २०७६ जेठ २८ मा सानु भण्डारीका नाममा डेढ करोड रुपैयाँको चेक काटिएको छ । यो चेक भेषराज शर्मा लम्सालले भण्डारीलाई दिएका हुन् । पोखराका लम्साल पनि अमेरिका जाने सपना देखाएर अरूबाट पैसा उठाउँदै कमिसन बुझ्ने एजेन्ट रहेको प्रहरी अनुसन्धानले देखाएको छ । यस्तै, लुम्बिनी विकास बैंक (नयाँ बाहुनी, मोरङ) मा गोविन्दकुमार चौधरीका नाममा रहेको खाताबाट २०७६ जेठ १९ मा सानु भण्डारीका नाममा डेढ करोडको चेक काटिएको छ, यही बैंकबाट जेठ २७ मा पनि चौधरीले भण्डारीका नाममा डेढ करोड रुपैयाँको अर्को चेक काटेको भेटिएको छ । यस्तै, प्राइम बैंकमा गोकुल थापाका नाममा रहेको खाताबाट जेठ १९ मा सानु भण्डारीका नाममा डेढ करोड रुपैयाँको चेक काटिएको छ । यी करोड करोडका चेक सर्वसाधारण नेपालीलाई अमेरिकी सपना देखाएर जम्मा गरिएको रकमबाट काटिएका हुन् ।

पक्राउ परेका दुलाल, भण्डारी, थुलुङ र गुरुङको बयान लिने क्रम जारी रहेको जानकारी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले दिए । यो गिरोहबाट ठगीमा परेको भन्दै झापा, मोरङ, कास्की, सल्यान, काठमाडौं, ललितपुर, म्याग्दीसहितका जिल्लाबाट उजुरी आउने क्रम जारी छ । उजुरीमा रामशरण केसी, प्रेमराज पन्थी, सन्देश शर्मा, गोकुल थापा, अशोक पोखरेल, विक्रम चौधरी मात्र होइन, तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार राई र उनका छोरा निरजको नाम छ । त्यस्तै, थापाकै छोरा प्रतीकविरुद्धसमेत उजुरी परेको छ ।

पन्थी कार्यदलका तर्फबाट झापास्थित शरणार्थी शिविरको समन्वय समितिमा बसेर काम गर्ने सुरेन्द्रराज दाहाल, यज्ञ निरौला र टंक दुलालमाथि पनि छानबिन हुनुपर्ने भन्दै उजुरी परिसकेको छ । तर, यी तीनै जना अधिकारीहरूले ‘आफूहरू यो गिरोहका बारेमा जानकार रहे पनि कुनै प्रकारको प्रलोभनमा नपरेको’ दाबी गरेका छन् । साभार कान्तिपुर दैनिक

प्रतिक्रिया