मोरङमा सुस्मितापछी थप २०० जना नक्कली परिक्षार्थी पक्राउ

मोरङमा सुस्मितापछी थप २०० जना नक्कली परिक्षार्थी पक्राउ


  • जन संचार
  • बिहिबार, २३ चैत्र २०७९
  • 11.1K
    Shares

मोरङमा सुस्मितापछी थप २०० जना नक्कली परिक्षार्थी पक्राउ

माध्यमिक शिक्षा परीक्षा (एसईई)  दिने दुई सय एक जना नक्कली परीक्षार्थीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङका तीनवटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने दुई सय एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालले  बिहीबार एक सय ९९  जनालाई पक्राउ गरिएको बताए । बुधबार दुई जना पक्राउ परेको उनले बताए ।

प्रहरीले ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ५२ जना, केराबारी गाउँपालिकामा रहेको  सार्वजनिक माविबाट १ सय २७ जना र सुन्दरहैचाको  जनता माबी बाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको हो ।

सामाजिक शिक्षातर्फ परीक्षा दिने क्रममा सार्वजनिक माविमा १ सय २७ जना विद्यार्थी पक्राउ परेका हुन् । सो परीक्षा केन्द्रमा २ सय ९८ जना विद्यार्थीले परिक्षा दिदै आएका थिए। परीक्षा दिने मध्ये झण्डै आधा  परीक्षार्थी पक्राउ परेका  हुन्।

बुधबार  ग्रामथानकै सरस्वती माविमा खुल्लातर्फ विज्ञान विषयको परिक्षाका क्रममा कल्पना लिम्बूको परीक्षा दिने सुनसरी धरान उप-महानगरपालिका वडा नं-५ की  २८ वर्षीय सुस्मिता लिम्बू पक्राउ परेकी थिइन् । लिम्बू पक्राउ परेपछि प्रहरीले  थप दुई सय जनालाई पक्राउ गरेको हो ।

‘परीक्षा फारम भर्ना एउटाको फोटो रहेछ,  प्रवेश पत्रमा  फोटो फेरेको  देखियो,’ डिएसपी दाहालले भने,‘ भेरिफाई गर्दा आफ्नो जन्ममिति पनि भन्न सकेनन् ।’ यो घटनाले परीक्षा प्रणालीका बारेमा सोच्न बाध्य बनाएको उनले बताए ।

एसईर्ईको परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गर्ने गिरोह नै सक्रिय रहेकाले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया