उपनिर्वाचनमा उम्मेदवारी दर्ता : तनहुँ १ मा १६, चितवन २ मा २४ र बाऱा १ मा ३६ उम्मेदवारद्वारा मनोनयन दर्ता

उपनिर्वाचनमा उम्मेदवारी दर्ता : तनहुँ १ मा १६, चितवन २ मा २४ र बाऱा १ मा ३६ उम्मेदवारद्वारा मनोनयन दर्ता


  • जन संचार
  • मंगलबार, २१ चैत्र २०७९
  • 2.1K
    Shares

आगामी बैशाख १० गते हुने तीन स्थानको उपनिर्वाचन मध्ये तनहुँ १ मा १६, चितवन २ मा २४ र बाऱा १ मा ३६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

तनहुँ १ बाटनिर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछी बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा विभिन्न नौवटा राजनीतिक दलका उम्मेदवारसहित १६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सर्वेन्द्र खनाल, नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)बाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रबि लामिछाने नागरिकता प्रकरण मा बिबादी बनेपछि रिक्त भएको चितवन क्षेत्र नं २को उपनिर्वाचनमा २४ जनाले उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ ।

निर्वाचन कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राजनीतिक दलबाट १२ जना र स्वतन्त्ररूपमा १२ जनाले उमेदवारी दर्ता गराएका हुन् । जसमध्ये स्वतन्त्ररुपमा उमेदवारी दिने दुई जना महिला छन् ।

राजनीतिक दलबाट उमेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जीवलाल पुरी, राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा रहेका छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट ज्ञानेन्द्र प्रजा, राष्ट्रिय जनमुक्ति पार्टीबाट महानन्द जैसी, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर तामाङ, राष्ट्रिय नागरिक पार्टीबाट योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट राजेश अधिकारी, जयजन्मभूमि पार्टी नेपालबाट प्रेमबहादुर खड्का र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिन रहेका छन् ।

यसैगरी स्वतन्त्ररुपमा उमेदवारी दर्ता गराउनेमा अम्बिका भट्ट, चक्रपाणि न्यौपाने, ताराप्रसाद पौडेल, भाष्करचन्द्र न्योपाने, भोजराज बगाले, रामकृष्ण ओझा, लक्ष्मीमाया कोइराला बुढाथोकी, विक्रम श्रेष्ठ, सन्तोष थापा, सुदर्शन कँडेल, सुमन श्रेष्ठ र सुवास परियार रहेका छन् ।

यसै गरी बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि ३६ जनाकाे उम्मेदवारी परेकाे छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख सराेज चाैधरीका अनुसार एमालेबाट पुरूषाेत्तम पाैडेल, जसपाबाट उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमतबाट शिवचन्द्र कुसवाहा, नेमकिपाबाट मुक्ति यादव, आम जनता पार्टीबाट अरूण ज्ञवालीलगायत ३६ जनाकाे उम्मेदवारी परेकाे हाे ।

जसमध्ये २४ जना स्वतन्त्र र १२ वटा दलका प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका हुन् । गत मंसिरकाे चुनावमा बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति भएपछि उक्त निर्वाचन क्षेत्र खाली भएकाे हाे । साेही क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरेको छ ।

प्रतिक्रिया