आगामी बैशाख १० गते हुने उपनिर्वाचन नजिकिदै जाँदा राजनीतिक दलहरुले आफ्नो पार्टीका उम्मेदवारहरु घोषणा गर्न शुरु गरेका छन्। चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनमा सत्तारुढ दल मध्येको एक राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना उम्मेदवारहरु तय गरेर घोषणा गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा हुने उपचुनाव चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ। पार्टी कार्यालय महाराजगञ्ज काठमाण्डौमा एक पत्रकार सम्मेलन गरेर रास्वपाले आफ्नो पार्टीको तर्फका उम्मेदवारहरु घोषणा गरेको हो।
गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित भएका थिए । तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो ।
बारा २ मा उठ्न लागेका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेका थिए । काठमाडौं १ मा पाँचाै भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लागेका हुन् । रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, नेकपा एमालेले बैशाख १० गते हुने उपचुनावमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबिरुद्ध रामप्रसाद न्यौपानेलाई र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार स्वर्णिम वाग्लेबिरुद्ध एमालेले नेपाल प्रहरीका पूर्व महानिरिक्षक सर्बेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरे पनि बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
‘बारा-२ को राजनीतिक अवस्था अत्यन्तै तरल भएकोले थप छलफल गरेर आइतबार उम्मेदवार टुंग्याइनेछ,’ गुरुङले भने ।
तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन् । यसअघिका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका सिनियर नेता किरण गुरुङले उपचुनावमा नउठ्ने भनेपछि खनालले उम्मेदवार हुनका लागि एमाले तनहुँ जिल्ला कमिटीमा निवेदन दिएका थिए । खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।
चितवन २ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । जिल्ला कमिटीले न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो । न्यौपान गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् । एमाले विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध भएर २०५३ सालदेखि नै पूर्णकालीन भएका न्यौपाने युवा नेता मानिन्छ ।