शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसंग छलफल गर्न पुगेका मिटरब्याज पीडितहरुले आफ्नो समस्या राख्दा राख्दै भक्कानिएका छन्।
सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाका करिब सय जना निमुखा नागरिक ऋणको गलपासो बनेपछि आफूहरुलाई न्याय दिन प्रचण्डलाई भेटेर याचना गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई समस्या सुनाउँदा पीडितहरुले आँसु पुछिरहेका थिए।
सरकारी वार्ता टोलीसँग पटक-पटक गरिएको सहमति कार्यान्वयन नभएको बताउँदै उनीहरुले यस पटक माग पूरा नभई नफर्कने स्पष्ट पारे।
आफूहरु प्रतिनिधिमात्र भएको र गाउँमा सबैको पीडा उस्तै रहेको जानकारी समेत उनीहरुले गराएका छन्। तमसुक व्यवस्था खारेज गर्नुपर्ने, मिटरब्याज पीडतहरूको पक्षमा कानुन निर्माण गर्नुपर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पीडितहरूले सरकार समक्ष राखेका छन्।
साहुहरूले हडपेको जग्गा पीडितलाई फिर्ता गर्नुपर्ने, पीडक साहुकारमाथि सहज ढंगले मुद्दा दर्ता गर्न पाउनुपर्नेलगायत अदालतले पीडितहरूलाई जारी गरेको पक्राउ पूर्जी सरकारले समस्याको छानबिन नगरेसम्म कार्यान्वयन रोक्नुपर्ने माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ।
साथै, नक्कली तमसुकको आधारमा जेल चलाउन भएका पीडितहरूलाई क्षतिपूर्तिसहित ससम्मान रिहा गर्नुपर्ने, बैंकबाट ऋण सहज र सरल व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारमा जान चाहने युवाका लागि सरकारको ग्यारेन्टीमा बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितको समस्या समाधान गर्ने आश्वासन दिएका छन्। उनले कानुन बनाएर दीर्घकालीन समस्या समाधान गर्न आफू गम्भीर रहेको धारणा राखे।