आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्ष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन् ।
उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश आईसीसी विश्वकप लिगले देखाइसकेको भन्दै भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधिन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्न आग्रह गरे ।
उनले भने, ‘गेम चेन्जर परियोजनाको रुपमा रहनसक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिकाले लिनेगरी निर्णय गर्न नेपाल सरकार समक्ष अनुरोध गरे ।’
उनले राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भए पनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप लिगले पनि देखाएको छ । यसै सन्दर्भमा भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधिन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रुपमा रहनसक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिका लिनेगरी निर्णय गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछु ।’
सांसद देवकोटाले नेपालमा शिक्षाको अवस्था चिन्ताजनक रहेको बताए । उनले विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौँ सरकारी विद्यालयहरु ध्वस्त भएको बताए । उनले उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान बनाएको बताए ।
उनले निजी कलेज, स्कुलले मनपर्दी शुल्क बढाउँदा समेत सरकार मौन रहेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘नेपालको शिक्षाको अवस्था नाजुक छ । विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौँ सरकारी विद्यालयहरु ध्वस्त भए । हुँदैछन् । उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान छ । निजी कलेज, स्कुलले शुल्क बढाउँछन् तर सरकार मौन छ ।’
नेपालबाट दिनहुँ विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै सरकारले यसमा गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।