प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । प्रचण्डले चैत ६ मा विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । त्यसका लागि गठबन्धनमा दलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भइसकेको छ भने जिम्मेवारीको विषयमा ठोस सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको समाचार स्रोतको दाबी छ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले साझेदार दलमा आन्तरिक गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहेको र सोमबारसम्म नतिजा निस्कने बताए ।
सत्ता गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार कांग्रेसले आठ मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले पांच र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ । साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ ।
सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिँदा हाल माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने बताइएको छ । स्रोतका अनुसार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय परिवर्तन हुने सम्भावना प्रबल जस्तै रहेको छ। माओवादीले गृह मन्त्रालय पाउने अवस्था देखिएको र उनले भौतिक छाडेर गृह मन्त्रालय पाउन सक्ने देखिएको हो ।
माओवादी केन्द्रका नेताहरुका अनुसार मन्त्रालयको भागबण्डा हुँदा माओवादीले गृह र कांग्रेसले अर्थ मन्त्रालय पाउने सकारात्मक माहोल बनेको छ । यस्तो अवस्थामा माओवादीले भौतिक मन्त्रालय पाउने सम्भावना कम छ । सोही कारण श्रेष्ठको मन्त्रालय परिवर्तन हुने सम्भावना धेरै रहेको बताइएको छ ।
उसो त सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीले समेत आफ्नो मन्त्रालय फेरिदिन प्रचण्डलाई आग्रह गर्दै आएका छन् । आफूलाई अन्य मन्त्रालय दिएमा थप नतिजा निकाल्न सक्ने मोदीको भनाइ रहँदै आएको छ । हाल माओवादीबाट श्रेष्ठ र मोदीसहित सञ्चारमन्त्रीमा रेखा शर्मा, पर्यटनमा सुदन किराती र पर्यटन राज्यमन्त्रीमा सुशीला सिर्पाली रहेका छन् ।
यस्तै जनमतबाट अब्दुल खान मन्त्री रहेका छन् । बाँकी मन्त्रालय भने हाल प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् । सबै विषयमा आइतबार दलहरु बसेर टुंगो लगाउँदै सोमबारसम्मका मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ । मन्त्रिपरिषद्को कामलाई टुंगो लगाएर सरकारलाई गति दिने प्रचण्डको योजना छ ।
पुस १० मा एमालेको मुख्य साथमा प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपति निर्वाचनमा कांग्रेससँग नजिकिएपछि नयाँ गठबन्धन बनेको थियो । नयाँ गठबन्धन बन्दा एमाले र राप्रपाले समर्थन फिर्ता लिँदा प्रचण्डले पुस ६ मा विश्वासको मत लिएका हुन् । कांग्रेससहितका १० दलको समर्थनमा प्रचण्डले विश्वासको मत जितेका थिए ।
कांगेसका संभावित मन्त्रीहरु
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकले ८ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको हो ।
कांग्रेसले आठ वटा मन्त्रालयको पाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भइरहेको सभापति शेरबहादुर देउवा र उपसभापति खड्काले बैठकमा ब्रिफिङ गरेको छन् । कांग्रेसका एक पदाधिकारीका अनुसार साना पार्टीले अस्वभाविक दाबी गरेकाले कांग्रेसलाई आठ भन्दा बढी मन्त्रालय दिन नसक्ने प्रधानमन्त्री प्रचण्डले संकेत गरेको देउवाको ब्रिफिङ थियो ।
एकीकृत समाजवादीले तीन, लोसपाले दुई मन्त्रालयको दाबी गरेपछि प्रधानमन्त्रीलाई निर्णयमा पुग्न ढिलाइ भएको उपसभापति खड्काको ब्रिफिङ थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने सोच बनाएको कांग्रेस नेताहको भनाइ छ । कांग्रेसका ती पदाधिकारीका अनुसार राहदानी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई सरकारले सफाइ दिएपछि रास्वपा गृहमन्त्री विना नै सरकारमा सहभागी हुन लचक देखिएको छ ।
प्रधानमन्त्री प्रचण्डका महान्यायधिवक्ताले चैत ६ गते लामिछानेलाई सफाइ दिएका छन् । सरकारमा कांग्रेस, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीलाई सहभागी गराउने गरी प्रचण्डले छलफल थालेको कांग्रेसका नेताहरु बताउँछन् । रास्वपा सरकारमा सहभागी हुँदा कम्तिमा ३ मन्त्रालय लिने पक्का छ । विगतमा पनि तीन मन्त्री र एक राज्यमन्त्रीसहित रास्वपा सरकारमा सहभागी भएको थियो ।
सभापति देउवाले अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महतलाई पठाउने अडान लिए पनि उनी उपप्रधान तथा रक्षा मन्त्री बनेर पनि सरकारमा सहभागी हुने खड्का निकट स्रोत बताउँछ ।
उनी निकट स्रोतले भन्यो, ‘उपप्रधान तथा अर्थमन्त्री बन्ने दाइको इच्छा छ । त्यो सम्भव नभए उपप्रधान तथा रक्षा मन्त्री बन्नुहुन्छ । विभिन्न समयमा गरी सात पटकसम्म मन्त्री बनिसकेका खड्काले विगतमा पनि अर्थमन्त्री बन्ने प्रयास गरेका थिए ।
यस्तै कांग्रेसबाट उपसभापति धनराज गुरुङ पनि मन्त्री बन्ने सम्भवना उच्च छ । कांग्रेसको शेखर कोइराला र गगन थापा समूहबाट उपसभापति गुरुङ मन्त्री बन्नेको पहिलो लिस्टमा छन् । यस्तै जीवन परियार, तेजुलाल चौधरी, डिगबहादुर लिम्बु, सञ्जय गौतम लगायत पनि मन्त्री बन्न तीव्र लबिङमा छन् ।
कांग्रेस नेता शशांक कोइरालाले दीपक खड्कालाई मन्त्रीका लागि सिफारिस गरेका छन् । आफू भने देउवा नेतृत्वको सरकार बन्दा मन्त्री बन्ने कोइरालाले निकटस्थलाई बताउने गरेका छन् । आफू मन्त्री नबनेको अवस्था प्रकाशमान सिंहले राजन केसीलाई मन्त्री बजाउने चर्चा छ । आफ्नो टीममा सभापति देउवालाई पनि मन्त्री छान्न सकस छ ।
पार्टीभित्रको सन्तुलन मिलाउँदा देउवासँग जोडिएको चार जना मात्र मन्त्री हुने अवस्था देखिन्छ । तर नेता एनपी साउद, किशोरसिंह राठौर, मोहन बस्नेत, शंकर भण्डारी, रमेश रिजाल, उदयशम्शेर राणा, सीता गुरुङ, श्याम घिमिरे, वीरबहादुर बलायरको दाबी चर्को छ ।