कारले कुकुरलाई ठक्कर दिएपछि स्थानीयले केरकार गर्दा ढलेका पूर्वफुटबलर डम्बरसिंह गुरुङ फेरि उठेनन्

कारले कुकुरलाई ठक्कर दिएपछि स्थानीयले केरकार गर्दा ढलेका पूर्वफुटबलर डम्बरसिंह गुरुङ फेरि उठेनन्


  • जन संचार
  • बिहिबार, ९ चैत्र २०७९
  • 11.1K
    Shares

पूर्वफुटबलर डम्बरसिंह गुरुङ

पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको बुधबार पोखरामा निधन भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पोखरा फर्कने क्रममा नाउँडाँडामा उनले चलाएको कारले कुकुरलाई ठक्कर दिएको थियो । स्थानीयले केरकार गरेपछि उनी त्यहीं ढलेका थिए । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ७१ वर्षीय गुरुङको हृदयघातका कारण निधन भएको बताइएको छ ।

तीन वर्षअघि मस्तिष्कघात भएपछि उनको टाउकोको शल्यक्रिया गरिएको थियो । उनको श्रीमती, ३ छोरी र १ छोरा छन् ।

सन् १९६६ मा बेलायती सेनामा भर्ती भएका उनी सन् १९७४ मा कोरियन प्रशिक्षक च्यानको प्रशिक्षकत्वमा थाइल्यान्डको राजधानी बैंककमा खेलेका थिए । सन् १९८२ मा जर्मन प्रशिक्षक रुडी गुटेनडोर्फको प्रशिक्षकत्वमा भारतको राजधानी नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय खेलमा उनले नेपाली राष्ट्रिय टिमबाट प्लेमेकरको भूमिकामा खेलेका थिए । उनले कुनै समय आरसीटीबाट फरवार्डको भूमिका निर्वाह गरेका थिए ।

भूतपूर्व बेलायती सैनिक गुरुङ एन्फा यू–१४, यू–१६, आर्मी, एपीएफजस्ता ‘ए’ डिभिजन क्लबको प्रशिक्षक भइसकेका छन् । उनले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा सुरुआती समयदेखि करिब छ वर्ष निःशुल्क प्रशिक्षण दिएका थिए । सन् १९८२ मा ब्रिटिस गोर्खा टिमबाट एन्फा कप पनि खेलेका उनी हाल पोखरामै आराम गरिरहेका थिए ।

प्रतिक्रिया