पूर्व जिल्ला शिक्षा अधिकारी योगेन्द्रबहादुर बस्नेतको उपचारका क्रममा लापरवाही गरेको आरोपमा नेपाल मेडिकल काउन्सिलले एकवरिष्ठसहित दुई जना चिकित्सकलाई निलम्बन गरेको छ । नेपाल मेडिकल काउन्सिलले पूर्व जिशिअ बस्नेतको उपचारमा लापरबाही गरेको ठहर गर्दै पेट तथा पाचन प्रणाली (ग्यास्ट्रोइन्टेस्टाइन, जिआई) शल्यचिकित्सक डा.सुनीलकुमार शर्मा र ड्युटीमा रहेका डा.राजिव मिश्रलाई एक साताका लागि निलम्बन गरेको हो । डा. शर्मा मेडिसिटी अस्पताल सर्जन विभागका प्रमुख हुन् ।
बस्नेतको गएको जेठ २२ गते पित्तथैलीको अप्रेसन गरिएकामा २५ गते मृत्यु भएको थियो । शल्यक्रिया गरेको दुई दिनपछि हृदयघात भएको र त्यसपछि चिकित्सकीय निगरानी र उपचारमा लापरवाही गरेकै कारण बुवाको मृत्यु भएको भन्दै उनका छोरा समिरबहादुर बस्नेतले काउन्सिलमा उजुरी दिएका थिए ।
गत शुक्रबार बसेको काउन्सिलको बैठकले डा. शर्मा र मिश्रलाई निलम्बनको निर्णय गरेको हो । बिरामीको अप्रेसनपछि फलोअपमा चिकित्सकको कमजोरी देखिएको काउन्सिलले जनाएको छ । बिरामीको स्वास्थ्य अवस्था जटिल भए पनि चिकित्सकले गम्भीर भएर ध्यान नदिएको पाइएको काउन्सिलको ठहर छ ।
जेठ १७ गते नियमित स्वास्थ्य परीक्षणका लागि मेडिसिटी अस्पताल पुगेका योगेन्द्रको चिकित्सकले पित्त थैलीको अपरेसन गर्नुपर्ने बताएपछि जेठ २२ गते शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि ‘पोस्ट अपरेटिभ वार्ड’ मा सारिएकोमा थियो । बिरामी बस्नेतले अप्रेसन गरेको भागमा धेरै दुखेको बताएपछि स्वास्थ्यकर्मीले सामान्य जाँच गरेर फर्केका थिए । त्यतिबेला उनको रक्तचाप सामान्य थियो । जाँच गरेको केही बेरमा शौचालय गएका उनी त्यहिँ लडेका थिए । बस्नेतको अवस्था झनै जटिल भयो । राति ३ बजे उनी अचेत भए । त्यसपछि मेडिकल अफिसरले कृत्रिम श्वास दिएर आइसियुमा राखे । भिडियो एक्सरे गरेर हेर्दा आन्तरिक रक्तश्राव देखियो । चिकित्सकहरुले पुन अप्रेसन गर्नुपर्ने बताए । फेरि अप्रेसन गर्दा पनि आन्तरिक रक्तश्राब नरोकिएको र धेरैजसो अंगहरुले काम गर्न छाडेकाले ‘अब आश कम भएको’ जानकारी चिकित्सकले बस्नेतको परिवारलाई गराए । भेन्टिलेटरमा राखिएकै बेलामा जेठ २५ गते बस्नेतको मृत्यु भयो ।
जेठ २४ गते राति १० बजे डा. राजिव मिश्रले बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी डा. शर्मालाई गराएका थिए । तर त्यतिबेला बिरामीको अवस्था जटिल भइसकेको थियो । आफ्नो नेतृत्वमा रहेको बिरामीमा जटिलता उत्पन्न हुँदा पनि समयमै उपचार गर्नमा ढिलाइ गरेका डा. शर्मालाई निलम्बन गरिएको काउन्सिलको ठहर छ ।
पीडित परिवारले छानबिन गरिपाउँ भन्दै असार ६ गते अस्पताल प्रशासनमा निवेदन दिएको थियो । कमीकमजोरी भएको स्वीकार गर्दै अस्पतालले पीडितको माग अनुसार डा.जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । उक्त समितिले बस्नेतका छोरा समिरललाई लेखेको पत्रमा ‘बिरामीको अवस्थाबारे विभिन्न तहहरुमा जानकारी दिने तथा संवाद गर्ने क्रममा उपचारमा संलग्न एमसिएच रेजिडेन्ड डाक्टर, मेडिकल अफिसर तथा उपचारिकाबाट केही कमीकमजोरी भएको हुँदा उपचारमा संलग्न एमसिएच रेजिडेन्ड डाक्टर, मेडिकल अफिसर तथा उपचारिकालाई तत्काल निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।’ अस्पतालले डाक्टरसहित उपचारमा संलग्न टिमलाई कारवाही गर्न विलम्ब गरेपछि बस्नेतको परिवारले असार २८ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको थियो ।