बुटवलका इलाका प्रहरीका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले सुन व्यापारीसँग नियमपूर्वक बरामद नगरीकन आफैंले लिन खोजेको छानबिन समितिले निष्कर्ष निकालेको छ।
बुटवलका एक व्यापारी किसन बिकले गत मंसिरमा ल्याएको सुन ३६ तोला ३२ लाल नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले केसीलाई गत पुस ११ गते पक्राउ गरेको थियो।
पक्राउपछि प्रहरी प्रधान कार्यालयले केसीलाई निलम्बन गरी अनुसन्धान गरेको थियो। केसीबारे छानबिन गर्न गठित समितिले छानबिन पूरा गरी प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई प्रतिवेदन समेत बुझाएको छ।
छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार केसीले सुन व्यापारीसँग सुन रितपूर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खोजेको’ छानबिन समितिको निष्कर्ष छ।
सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भए पनि केसीले बदनियत राखेको उल्लेख गर्दै समितिले सुन बरामद गरेपछि प्रचलित कानूनबमोजिम गर्नुपर्नेमा डिएसपी केसीले आफ्नो पदीय दायित्व पूरा गरेको नदेखिएको उल्लेख छ।
समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुँवेर खापुङले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई प्रतिवेदन बुझाएका हुन्।
समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागि सो विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए।
केसीले सुनको वैध वा अवैध के हो भन्नेबारे छानबिनका लागि मुद्दा नचलाई आफैंले राखेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले केसीलाई निवासबाटै पक्राउ गरेको थियो।
सिआइबीको टोलीले विकसँग बरामद गरेको सुन फिर्ता गर्न केसीले लिएको ८ लाख ५० हजार नगद रुपैयाँ र ९ लाख ५० हजार रुपैयाँको चेक समेत केसीको निवासबाट बरामद गरेको थियो।