रुवान्डा उड्न लागेका एन्फा उपाध्यक्ष शाही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट किन फ़र्काइए ?

रुवान्डा उड्न लागेका एन्फा उपाध्यक्ष शाही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट किन फ़र्काइए ?


  • जन संचार
  • सोमबार, २९ फाल्गुन २०७९
  • 5.9K
    Shares

विराटजंग शाही , Birat-jung-shahi

अफ्रिकी देश रुवान्डामा हुने फिफा कंग्रेसमा सहभागी हुन सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष विराटजंग शाही बिमानस्थलबाटै फ़र्काइएका छन्। हातमा भिसा र टिकट बोकेर घरपरिवारसँग बिदा भएर विमानस्थलमा पुगेका शाही अन्तिम समयमा बिमानस्थलबाटै फ़र्काइएका हुन्।

प्राप्त विवरण अनुसार, अखिल नेपाल फुटबल संघ एन्फाले फिफा कंग्रेसमा सहभागी हुन शाहीसहित अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राई समेत गरेर तीन जनाको नाम पठाएको थियो । जस अनुसार शाहीको हातमा भिसा र टिकट पनि आइसकेको थियो । तर उनको हातमा भएको टर्किस एयरको टिकट अनुसार चेक इन्ट काउन्टरमा शाहीको नाममा बोर्डिङ पास नभए पछि उनी टर्किस एयर नचढी घर फर्किएको प्राप्त जानकारीमा उल्लेख छ।

पछिल्लो समय एन्फा अध्यक्ष नेम्वाङको कार्यशैलीको विरोध गर्दै आएका शाहीको नाम अन्तिम समयमा हटाएर एन्फाले केन्द्रिय सदस्य मणिराज विष्टको नाम समावेश गरेको थियो । त्यसैले नेम्वाङ, राई र विष्ट रुवान्डा उडे पनि शाही जान पाएनन् र उनी घर फर्किएका बताइएको छ। यसबाट आफूले अपमान महसुस गरेको शाहीले बताएका छन् । उनले एन्फाका अध्यक्ष नेम्वाङको आलोचना पनि गरेका छन् । नेम्वाङलाई लक्षित गर्दै शाहीले भने, ‘४० वर्ष इमान्दारी‌ पूर्वक फुटबलमा गरेको योगदान र तपाईँलाई अध्यक्ष बनाउन गरेको महत्वपूर्ण सहयोग गरेको बापतमा आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनु पर्‍यो । एन्फा अध्यक्ष ज्यू लाई धेरै धेरै धन्यवाद ।’

उनले आफ्नो नाम हटाउनु थियो भने सल्लाह गरेर र पूर्व जानकारी दिएरै हटाएको भए हुने थियो भनेका छन् । ‘मेरो नाम हटाउनु थियो भने पनि कमसेकम मलाई जानकारी गराएको भए यस किसिमको अपमानित हुनुपर्ने थिएन,’ शाहीले भने, ‘घरबाट बिदाबारी भएर गैसकेको व्यक्तिले घरमा गएर के भन्ने ?’

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका शाही गत असारमा भएको एन्फाको चुनावमा नेम्वाङकै प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् । तर ६ असारमा निर्वाचित नेम्वाङ नेतृत्वको एन्फा कार्यसमितिमा पहिलो बैठकदेखि नै उनीहरुबीच मतभेद सुरु भइसकेको थियो ।

शाहीसहित कार्यसमितिका १२ जनाले १७ फागुनमा बस्न लागेको कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षलाई बर्खास्त गर्नेसहित ६ वटा एजेण्डा थप्न माग गरेका थिए । तर उनीहरुको माग पूरा नभएपछि उपाध्यक्षहरु विराटजंग शाही, दीर्घबहादुर केसी कुमार र दीपक खतिवडासहित सदस्यहरुः रुपेश अधिकारी, रमेश ब्यन्जनकार, महेन्द्र क्षेत्री, रविन चन्द, भोजराज शाही र पेमा डोल्मा लामा गरी ९ जनाले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेनन् ।

नेम्वाङले एन्फाको सचिवालय चुस्त बनाउने, आर्थिक र नीतिगत पारदर्शीता गर्ने, विकेन्द्रीकरण र सामुहिक नेतृत्वलाई प्राथमिकता राख्ने एजेण्डा उठाएर चुनाव जितेको भए पनि त्यसअनुसार काम नगरेपछि आफूहरुले सुधारका लागि दबाव दिएको शाही बताउँछन् । कार्यशैली सुधारको माग राखेकै कारण नेम्वाङले अहिले आफूलाई अपमानित गरेको शाहीको बुझाइ छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले उपाध्यक्ष विमानस्थलबाट फर्केको बारेमा आफूले सामाजिक सञ्जालबाट थाहा भएको तर यसबारेमा थप बुझ्न नपाएको भन्दै के भएको हो थप बुझेर बोल्ने बताए ।

प्रतिक्रिया