भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा पेटमा रक्सीको बोतल भेटिएका युवकको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
अस्पतालका ल्याप्रोस्कोपिक तथा जीआई सर्जन विभागका प्रमुख कन्सल्टेन्ट डा.नारायणप्रसाद बेलबासेले उनी सामान्य हिँडडुल गर्न थालेको बताए।
गत सोमबार बिहान डा.बेलबासे नेतृत्वको स्वास्थ्यकर्मीको टिमले रौतहटको गुजरा नगरपालिका–९ का २६ वर्षीय नुर्साद मन्सुरीको पेटको शल्यक्रिया गरी रक्सीको बोतल निकालेको थियो।
बोतलको टुप्पोले ठूलो आन्द्रालाई छेडेका कारण दिसाका कारण आन्द्रामा इन्फेक्सन हुनसक्ने डा.बेलबासेले बताए। ‘उनलाई बिहीबारदेखि सामान्य हिँडाइएको छ। बोल्न पनि सक्छन्,’ डा.बेलबासेले भने, ‘पेट हल्का सुन्निएको जस्तो देखिएको छ। त्यो बिस्तारै निको हुँदै जान्छ।’
रौतहटको चन्द्रपुर अस्पताल र बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पतालबाट एक्सरे गर्दा रिपोर्टमा पेटभित्र सिंगो रक्सीको बोतल देखिएपछि चिकित्सकले तुरून्तै रिफर गरि आएका नुर्सादको आधा भाग पेटभित्र, आधा भाग ठूलो आन्द्रामा पुगेको अवस्थामा रक्सीको बोतल निकालेको थियो।
नुर्साद मन्सुरीले आइतबार बिहान अचानक पेट दुख्यो भनेपछि सुरूमा बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाएका थिए। त्यसले ठीक नभएपछि सोमबार उनलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गरियो।
आफन्तले उनलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पताल पुर्याए। शल्यक्रिया गर्नुपर्छ, ज्यानको खतरा पनि हुनसक्छ भनेपछि उनलाई भरतपुर ल्याइएको थियो।