आफ्नो उत्पादन बिक्री नहुने तथा घाटा खाएर बेच्नुपरेको भन्दै तनहुँका किसानले आन्दोलन घोषणा गरेका छन्। संयुक्त कृषक सङ्घर्ष समिति तनहुँको नाममा तनहुँका किसानले आन्दोलन घोषणा गरेका हुन्।
नेपाल सरकार, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, बीमा प्राधिकरण तथा बीमा कम्पनीसमक्ष विभिन्न १७ बुँदे माग राखेका तनहुँका किसानहरुले कृषि व्यवसाय र कृषकमाथि परेका समस्या सम्बोधन गर्न माग गरेका छन्। यदि किसानहरुको माग सम्बोधन नभए विद्रोहको ज्वाला सल्कने चेतावनी तनहुँका किसानहरुले दिएका छन्।
संयुक्त कृषक सङ्घर्ष समितिले उत्पादनमा आधारित अनुदानको व्यवस्था लागू गर्नुपर्ने, सरकारमार्फत सिधै कृषि कर्जा तथा बीमा सुविधा प्रदान गर्नुपर्ने, कृषि उत्पादन सरकारद्वारा सोझै खरिदको व्यवस्था गर्नुपर्ने, कृषकलाई फसाउने बैंकले क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ।
बिहीबार पत्रकार सम्मेलन गरी किसानका मागहरु सहित दमौलीमा कृषकको ¥याली निकालिने संघर्ष समितिका संयोजक मित्र दुराले जानकारी दिए ।
स्थानीय सरकारको मातहतमा कृषि तथा पशु शाखाको जिम्मामा गएपनि प्राविधिकहरु किसानको घरमा नपुग्ने गर्दा कृषकले आधुनिक प्रविधिको ज्ञान नपाउने, अनुदानको कार्यक्रमबाट लाभ लिन नसक्ने अवस्था आएको दृग्ध तथा तरकारी उत्पादक कृषक रमेश आचार्यले बताए ।
कार्यक्रममा अण्डा उत्पादक संघ तनहुँका अध्यक्ष खेमराज अधिकारीले अण्डा उत्पादनमा दैनिक ६० प्रतिशत घाटा व्यहोर्न बाध्य भएको गुनासो गरे । तनहुँमा ९६ जना अण्डा उत्पादक कृषकले दैनिक साडे दुईलाख अण्डा उत्पादन गर्दै दानाको मूल्य बढ्ने तर अण्डाको मूल्य घटाएर बेच्नु पर्दा घाट खाएर व्यवसाय टाट पल्टिन लागेको अधिकारीले बताए ।
सङ्घर्ष समितिका संयोजक मित्र दुराले कृषिजन्य उत्पादन सस्तो मूल्यमा भारतबाट आउने हुँदा प्रतिस्पर्धा गर्न नसक्दा अधिकांश कृषक पेशाबाट पलायन हुनुपर्ने अवस्था अएको बताए ।
उत्पादन गरिएको समानको लागत मूल्य नतोकेकाले कृषकहरु पलायन हुने अवस्था आएको किसान विद्रोहमा उत्रिन बाध्य भएको समितिका सहसंयोजक एवं युगीन कृषि फार्मका सञ्चालक ईश्वरराज पन्थले बताए।
व्यास नगरपालिका–११ सेरामा दूध तथा तरकारीको उत्पादन गर्दै आउनु भएका कृषक रमेशप्रसाद आचार्यले हाल कृषकले खेप्दै आएको समस्या समाधान गरी कृषक र कृषिलाई जोगाउनुपर्ने बताउनुभयो। माग पुरा नभए किसान कडा संघर्षमा उत्रिनुको विकल्प नभएको आचार्यले बताउनुभयो। वास्ताविक कृषकले अनुदान नपाउने, आयातित वस्तुको मूल्य कम हुने र खपत पनि बढी हुने हुँदा स्थानीय बजार कमजोर भएको समितिले बताएको छ।
पत्रकार सम्मेलनमा तरकारी तथा फलफूल उत्पादक, मासुजन्य पदार्थ उत्पादक किसानले कृषि पेशा सम्मानजनक बन्न नसकेको धारणा राख्नुभएको थियो। देश समृद्धिको सपना बोकेर कृषि व्यवसाय गर्दा हामी नै अपमानित हुने अवस्था सिर्जना भएको कृषकको गुनासो थियो ।