आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने बुधबार दिउँसो ३ बजे संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् । उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्याबाहक सचिव दुर्गाराज पाठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्वीकृति दिएपछि सन्दीप दुबई गएको बताए । टिम व्यवस्थापनले चाहेमा उनले बिहीबार युएईविरुद्धकै खेल खेल्न पाउने उनको भनाइ छ ।
सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी शुरु गरेको थियो ।